प्रकाशित मिति : सोमवार, साउन १७, २०७३
मुलुकको ३९ औं प्रधानमन्त्रीको चयन बुधबार हुने भएको छ।
प्रधानमन्त्री चयनका लागि सभामुख ओनसरी घर्तिमगरले संविधानको धारा २९८ को उपधारा ३ बमोजिम बहुमतीय आधारमा निर्वाचन गर्न राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको आधारमा साउन १९ गते बिहान ११ बजे निर्वाचन गर्न निर्वाचन समिति गठन गरेकी हुन्।
सोमबार बसेको दोस्रो संसद बैठकमा राष्ट्रपति कार्यालयबाट पत्र पढ्दै सहमतिका आधारमा ७ दिनभित्र प्रधानमन्त्री र मन्त्रिपरिषदको गठनका लागि गरेको आब्हानमा प्रधानमन्त्रीको निर्वाचन हुन नसकेको कारण संविधानको धारा २९८ को ३ बमोजिम संसदको बहुमतको आधारमा प्रधानमन्त्रीको निर्वाचन अघि बढाउन सदनलाई आग्रह गरेको बताइन्।
त्यसपछि सभामुखले उक्त धारा बमोजिम प्रधानमन्त्रीको साउन १९ गते ११ बजे हुने भन्दै त्यसका लागि संसद सचिवालयका महासचिवको संयोजकत्वमा निर्वाचन कार्यक्रम प्रकाशित गर्न निर्देशन दिइन्।
प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा परेपछि आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत पश्चात राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २९८ को उपधारा २ बमोजिम सहमतिको सरकार गठनका लागि दिएको समयमा दलहरुबीच सहमति नभएपछि उपधारा ३ बमोजिम निर्वाचन हुन लागेको हो।
यसका लागि कांग्रेस, मधेसी मोर्चा लगायतको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी दिनेछन्।
उनले निर्वाचित हुनका लागि पर्याप्त मत पाउने पक्का पक्की भए पनि एमालेले आफ्नो दलको तर्फबाट उम्मेदवारी दिने तयारी गरिरहेको छ।
उक्त समितिले आजै निर्वाचन कार्यतालिका प्रकाशित गर्दै भोली मंगलबार बिहान उम्मेदवारी दर्ता, दाबी विरोध, मनोनयन फिर्ता तथा अन्तिम नामावली प्रकाशित गर्नेछ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij