प्रकाशित मिति : सोमवार, साउन १७, २०७३
काठमाडौँ – साउन कृष्ण चतुर्दशीका दिन मनाइने गठेमङ्गल अर्थात् घन्टाकर्ण पर्व सांस्कृतिक परम्पराअनुसार आज मनाइयो ।
विशेषगरी नेवार समुदायले परापूर्वकालदेखि मनाउँदै आएको सो पर्वमा गठेमङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप आज बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटामा उभ्याइने चलन छ ।
आज बिहानै स्नान, पूजापाठ गरी घरआँगन सफा गरिने, केटाकेटीले बाटामा डोरी टाँगेर पैसा माग्ने र राति राँको बाली गठेमङ्गल नामक राक्षसको प्रतीकलाई घिसार्दै जलाइन्छ ।
गोपाल वंशावलीअनुसार गठेमङ्गललाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्रीपुरुषले दर्शन गर्नुपर्ने परम्परा नेवार समुदायमा रहेको इतिहासविद् प्रकाश श्रेष्ठले बताउनुभयो । जीवनमा बाह्य बाधा, आन्तरिक बाधा एवम् शत्रुबाट रक्षा प्राप्त गर्नाका साथै आर्थिक र भौतिक उन्नतिका लागि घण्टाकर्णको पूजा आराधनालाई महत्वपूर्ण मानिन्छ । रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij