प्रकाशित मिति : बुधबार, साउन १९, २०७३
दाङ साउन १९ । दाङकी एक किशोरीलाई भारत लैजाँदै गरेको अवस्थामा दुई जनालाई प्रहरीले कृष्णनगरबाट पक्राउ गरेको छ । डाक्टरसँग बिहे गराइदिने भन्दै किशोरीलाई भारत लैजाँदै गरेको अवस्थामा दाङ घर भएकी ३४ वर्षिया मीना घोराली र भारत बलरामपुरका ५८ वर्षका जफर अहमद सिद्धिकीलाई प्रहरीले कपिलबस्तुको कृष्णनगरबाट पक्राउ गरेको हो ।
ती १८ वर्षिया किशोरीलाई प्रलोभनमा पारी डाक्टरसँग विवाह गराइदिने भनेर कृष्णनगरको बाटो हुँदै भारत लैजान थालिएको अवस्थामा कृष्णनगरमै रहेको मानव बेचबिखन तथा ओसारपोसार बिरुद्ध क्रियाशिल संस्था के।आई नेपाल, नेपाल प्रहरी र सशस्त्र प्रहरीबल राजश्व भन्सार सुरक्षा गुल्म कृष्णनगरको संयुक्त टोलीले पीडितको उद्दार र दलालहरुलाई पक्राउ गर्न सफल भएको हो ।
डाक्टरसँग विवाह गर्दा सुखसँग बस्न पाइने भन्दै विभिन्न आश्वासनमा पारेर मीनाले आशालाई कृष्णनगरको बोर्डर कटाउँदै गर्दा शंका लागेर सोधपुछ गर्दा रहस्य खुलेको के आई नेपालका कपिलबस्तुका संयोजक केशर विश्वकर्माले बताउनुभयो । सानैमा बाबुको मृत्यु भएको र आमाले छोडेर गएपछि बेसहारा बनेकी ती किशोरीको सानै उमेरमा बिहे भएको, बिहेपछि पनि पतिसँग सम्बन्ध बिग्रिएपछि घोराहीमा एक्लै बस्दै आएको बेला मीनासँग सम्पर्कमा आएकी थिइन् ।
अनेकांै झुटा आश्वासन दिई घरमा कुनै जानकारी नदिई योजनाबद्ध रुपले सीमा पार गराउन खोजेपछि शंका लागेर शोधपुछ गर्दा बास्तविकता भेटिएको के। आई नेपालका जिल्ला संयोजक विश्वकर्माले बताउनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij