प्रकाशित मिति : बिहिबार, साउन २०, २०७३
जेपी थुलुङ, सोलुखुम्बु- सोलुखुम्बुमा पछिल्लो समय विद्यालय, सरकारी कार्यालय, प्रहरी चौकी, स्वास्थ्य संस्था, विद्यालय तथा गाविस लगायतका सरकारी निकायलाई जग्गा निशुल्क उपलब्ध गराउने क्रम बढेको छ । जिल्ला मालपोत कार्यालय सोलुखुम्बुकोे तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा मात्र २७ वटा कार्यालयले निःशुल्क जग्गा प्राप्त गरी रजिष्ट्रेशन पास गराइसकेका छन् । जिल्ला मालपोत कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा सबैभन्दा बढि स्वास्थ्य संस्थाको नाममा रजिष्ट्रेशन पास भएको छ ।
जिल्ला मालपोत कार्यालयको मुल्याङ्कन अनुसार सोलुखुम्बुमा चालु आर्थिक वर्षभित्र विभिन्न सरकारी कार्यालयको नाममा १ करोड २५ लाख ५९ हजार ६ सय रुपैया बराबरको जग्गा जिल्ला मालपोत कार्यालयबाट निःशुल्क रजिष्ट्रेशन पास भईसकेको जिल्ला मालपोत कार्यालय सोलुखुम्बुले जनाएको छ ।
विभिन्न संघसंस्थालाई जग्गा दिंदा पुस्तौंपुस्तासम्म नाम अमर रहने र धर्म कमाउने विश्वास छ । कतिले भने महत्वपूर्ण कार्यालयलाई जग्गा दिंदा वरिपरिको जग्गाको मूल्यांकन बढ्ने भएकाले पनि जग्गा उपलब्ध गराउने गरेका छन् । जिल्ला मालपोत कार्यालय सोलुखुम्बुका सुचना अधिकारी जगत बहादुर कटुवाल भन्नुहुन्छ ‘सोलुखुम्बुमा सामाजिक काम प्रतिको चासो र झुकाव बढेको छ । यो जिल्लामा सरकारी निकायको भवन बनाउन सरकारी रकम खर्च गर्नु परेको छैन । उहाँका अनुसार मालपोत कार्यालयको जग्गा पनि निःशुल्क नै प्राप्त भएको हो ।
निःशुल्क जग्गाको रजिष्ट्रेशन पास गर्दा जिल्ला मालपोत कार्यालयले राजश्व उठाउन नपाएपनि राज्यका लागि राजश्व भन्दा निःशुल्क जग्गाकै महत्व बढी हुने अधिकारी कटुवालले बताउनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij