आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भर्खरै बनेको नयाँ सरकारले दुई छिमेकी मुलुकसँगको सम्बन्धलाई समान राख्नुपर्ने

  • प्रकाशित मिति : शुक्रबार, साउन २१, २०७३



  • काठमाडौं, साउन २० । भर्खरै बनेको नयाँ सरकारले दुई छिमेकी मुलुकसँगको सम्बन्धलाई समान राख्नुपर्ने विज्ञले बताएका छन् ।
    रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा भारतका लागि नेपालका पूर्वराजदूत प्रा डा लोकराज बरालले नेपालको विकासमा दुवै छिमेकी मुलुकको सहयोग र सद्भाव रहेकाले सम्बन्धलाई बराबर राख्नुपर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, “नयाँ सरकारले संविधान संशोधन गरेर तराई मधेसमा देखिएको असन्तुष्टिलाई हटाए मात्र देश विकासको बाटोमा अगाडि बढ्न सक्छ ।” प्रा डा बरालले व्यावहारिक रुपमा भारतसँग नेपालको गहिरो सम्बन्ध भएकोले यसलाई भुल्न नहुने बताउनुभयो ।

    भारतका लागि नेपालका पूर्वराजदूत डा दुर्गेशमान सिंहले विदेशीको सानो स्वार्थका कारण नेपालमा परिवर्तन हुने गरेकाले यसप्रति सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले कूटनीतिक हिसाबबाट दुई छिमेकी मुलुकसँगको सम्बन्ध अगाडि बढाए मात्र देश विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । अमेरिकाका लागि नेपालका पूर्वराजदूत डा शङ्कर शर्माले नेपालको आन्तरिक समस्यालाई आन्तरिक रुपले हल गर्न सके मात्र छिमेकी मुलुकसँगको सम्बन्ध प्रगाढ हुने बताउनुभयो ।

    बेलायतका लागि नेपालका पूर्वराजदूत डा सुरेश चालिसेले भारत र चीनको रुचिको कुरालाई नेपालले बुझेर नेपालको फाइदाका लागि काम गर्नु आवश्यक रहेकामा जोड दिनुभयो । इतिहासविद् प्रा डा सुरेन्द्र केसीले प्रमुख प्रतिपक्षलाई विश्वास लिएर अगाडि बढे मात्र छिमेकी मुलुकसँगको सम्बन्ध राम्रो हुने बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij