प्रकाशित मिति : शुक्रबार, साउन २८, २०७३
चौतारा– सिन्धुपाल्चोकको भोटेकोसी नदीमा गत असार २१ गते राति आएको बाढीले क्षति पु¥याएपछि बन्द भएको १०.०५ मेगावाटको सुनकोसी जलविद्युत् केन्द्रबाट केही दिनभित्रै उत्पादन सुरु हुने भएको छ ।

बाँधस्थलमा नदी फर्काएर जोडतोडका साथ काम भइरहेको हुँदा यन्त्रले निरन्तर रुपमा काम दिएमा साताभित्रै सम्पन्न भई पुनः उत्पादन सुरु गरिने नेपाल विद्युत् प्राधिकरण सुनकोसी केन्द्रका उत्पादन प्रमुख सुरज दाहालले जानकारी दिए । जुरे पहिराले करोडौँ मूल्य बराबरको भौतिक क्षतिपछि बन्द आयोजनालाई केही महिनाको प्रयासमा तीन टर्वाइनमध्ये दुई वटा चालु गरी सात मेगावाट क्षमताको विद्युत् उत्पादन हुँदै आएको थियो ।
गत असार २१ मा भोटेकोसीमा आएको बाढीले पुनः क्षति पु¥याई बन्द आयोजनालाई एक सातापछि सञ्चालनमा ल्याइए पनि चार घन्टापछि नै बन्द भएको थियो । भूकम्प र बाढीले बाँधमा ठूलो क्षति पुगेपछि सञ्चालन गर्न रु ७० लाख बजेटमा ठेक्का दिइएको थियो । ठेक्काको काम सम्पन्न भइसकेपछि बाढीले सबै बगाएको छ । अब रु १०/१२ लाख खर्चमा सबै काम हुने र दुई वटा टर्वाइन चालु गराई पाँचदेखि सात मेगावाट विद्युत् साताभित्रै उत्पादन हुने प्रमुख दाहालले बताए ।
केन्द्रका अनुसार भूकम्पबाट करिब रु ५० करोड मूल्य बराबरको भौतिक सम्पत्ति क्षति भएको थियो । भूकम्पबाट ४५ मेगावाटको माथिल्लो भोटेकोसी, ३.१ मेगावाटको भैरवकुण्ड र ४.२ मेगावाटको बरम्ची आयोजनासमेत कुल ५२.३ मेगावाटका तीन आयोजना पूर्ण रुपमा बन्द भएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij