प्रकाशित मिति : बिहिबार, भदौ १६, २०७३
बलिउड अभिनेत्री करिना कपुर यतिबेला जहाँ देखा पर्छिन्, त्यहाँ उनको गर्भावस्थाबारेको कुरो उक्किएकै हुन्छ । पाँच महिनाकी गर्भवती यी नायिका पनि खुलेरै बोलिरहेकी हुन्छिन् । पछिल्लोपटक उनले भनिन्, ‘गभर्वती हुनुलाई कुनै रोगजस्तो ठान्नु हुँदैन ।’
अप्ठ्यारो शारीरिक अवस्थाका कारण महिलाले कतिपय काम गर्न नसक्ने भए पनि यो अवस्थालाई जटिल रोग नै लागेजस्तो ठान्नु मूर्खता भएको करिनाको भनाइ थियो । हालै सम्पन्न ल्याक्मे फेसन विक २०१६ मा सो स्टपरका रूपमा उपस्थित हुँदा करिनाले यस्तो बताएकी हुन् ।
अभिनेता सैफ अली खानसँग विवाह गरेकी करिनाले महिलाका लागि गर्भावस्था निकै रहस्यमयी र रोचक हुने भन्दै यो बेलालाई झन्झट नठानी सामान्य दिनचर्या बिताउन सकिने बताइन् । गर्भावस्थालाई बाहना बनाएर कामबाट नटाढिएको भन्दै बलिउडमा उनको प्रशंसा पनि हुने गरेको छ । फेसन विकमा डिजाइनर सव्यसाची मुखर्जीको ‘इलुमिनेट’ पहिरनमा देखा परेकी उनले यो क्षण आफ्ना लागि अभूतपूर्व र अविस्मरणीय रहेको बताइन् । ‘जिन्दगीमा पहिलो पटक म आफ्नो बच्चासहित र्याममा हिँडिरहेकी छु,’ उनले निकै भावुक हुँदै भनिन्, ‘उत्सवझैं लागिरहेको छ ।’
सामान्यत: अभिनेत्री दुई जीउकी हुँदा बलिउडले उनीहरूलाई उति सहयोग नगर्ने बताइन्छ । तर, करिनाले यो हल्ला मात्रै भएको पुष्टि गरेकी छन् । ‘मैले गर्भ हुँदा र नहुँदामा केही फरक अनुभव गरेकी छैन,’ उनले भनिन्, ‘बलिउडले सहयोग नगर्नुपर्ने खासै कारण पनि त छैन ।’
हालै ‘की एन्ड का’ फिल्ममा देखिएकी करिनालाई दर्शकले ‘र्याम्पमा हिँडिरहँदा बच्चाले किक गर्यो कि गरेन ?’ भन्दै सोधेका थिए । ‘हिन्दु’ दैनिकका अनुसार उनले आफू निकै नर्भस भएकाले त्यतातिर ध्यान दिन बिर्सेको बताएकी थिइन् ।
करिना र्याम्पमा हिँडिरहँदा उनकी दिदी करिश्मा कपुर चाहिँ बहिनीको तस्बिर खिच्न व्यस्त थिइन् । दीपिका पादुकोण, काजल अग्रवाल जस्ता अभिनेत्री पनि दर्शकका रूपमा उपस्थित थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij