प्रकाशित मिति : सोमवार, भदौ २७, २०७३
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सोमबार आफ्नो ५४ औ वार्षिक उत्सव मनाएको छ । बार्षिकोत्सवको अवसरमा कर्पोरेशनले २० बर्ष सेवा अवधि पूरा गरेका, उत्कृष्ट कार्य गर्ने कर्मचारी तथा सामाजिक संस्थालाई समेत सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
कार्पोरेशनले उत्कृष्ट कार्य गर्ने कर्मचारीमा अनुप श्रेष्ठ र काशिन्द्र यादवलाई हेमबहादुर उत्कृष्ट कर्मचारी पुरस्कार दिएको छ । यस्तै, इश्वरलाल श्रेष्ठ उत्कृष्ट कर्मचारी पुरस्कारबाट नविनचन्द्र झा, मोहन थापा र लालबहादुर तामाङलाई पुरस्कृत गरेको छ । यस्तै, कर्पोरेशनमा २० बर्ष काम गरेका केदारमान श्रेष्ठ, सुमोल कुमार श्रेष्ठ, चन्द्रदत्त ढकाल, मंगल लामा, बद्रीमान महर्जन लगायतलाई समेतलाई सम्मान गरेको छ ।
समाजिक संस्थामध्ये धनगढीको नेपाल बाल संगठनलाई ५० हजार राशीको पुरस्कारसहित सम्मान गरेको छ भने गत बर्षको एसएलसीमा उत्कृष्ट अंक ल्याउने कर्मचारीका छोरा छोरीमध्ये विश्वेश्वर न्यौपाने र सुजनासिद्धि बज्राचार्यलाई पनि पुरस्कार प्रदान गरेको छ । बार्षिकोत्सवको अवसरमा सोमबार साल्ट टे«डिङ परिसरमा आयोजित कार्यक्रममा प्रमुख अथिति आपुर्ती मन्त्री दिपक बोहराले सम्मान तथा पुरस्कार वितरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै आपुर्ती मन्त्री बोहराले साल्ट टे«डिङ नाफामूलकभन्दा पनि सेवा मुलक संस्था भएकाले आम उपभोक्ताको माग अनुसार काम गर्नुपर्ने बताए ।
उनले आगामी दिनमा कर्पोरेशनको कामलाई अझ प्रभावकारी बनाउन पेट्रोलियम भण्डारण केन्द्रस्थापना लगायतका काममा जान आग्रह गरे । यस्तै, मन्त्री बोहराले कर्पोरेशनले सस्तो र गुणस्तरिय सेवा उपलव्ध गराउनुपर्नेमा जोड दिए ।
कार्पोरेशनका अध्यक्ष लक्ष्मीदास मानन्धरले आम उपभोक्ताका लागि अतिआवश्यक नुन, चिनी, ग्यास, कागज लगायतको उपलव्धता कर्पोरेशनले गराइराखेको बताए । उनले आगामी दिनमा कर्पोरेशनले अझ बढी सेवा प्रदान गर्दै लैजाने बताए ।
यस्तै, कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पोरेशनले संचालक समितिको मार्ग निर्देशन अनुसार काम गर्दै आम उपभोक्तालाई आवश्यक वस्तु उपलव्ध गराउँदै आएको बताइन् ।
उनले रसायनिक मलदेखि गहुँको बीउ प्रशोधनगरि उपलव्ध गराउदै आएको तथा अर्गानिक मल उत्पादनका लागि अध्ययन भइरहेको बताइन् । श्रेष्ठले आयोडिनयुक्त नुनको उपलब्धतादेखि ग्यासको बिक्री समेत भइहेको र यसलाई अझ विस्तार गर्दै लैजाने योजना प्रस्तुत गरिन् ।
आपुर्ती मन्त्रालयका सहसचिव तथा सञ्चालक समितिका संचालक आनन्दराम रेग्मी, कर्पोरेशनको आधिकारीक ट्रेड युनियनका अध्यक्ष मेघराज ज्ञवाली लगायतले पनि कार्यक्रममा सम्बोधन गरेका थिए । बिगत ५४ बर्षदेखि कर्पोरेशनले नुन लगायतका अत्यावश्क खाद्य तथा अन्य वस्तुहरुको उपलव्धता गराउँदै आएको छ । कर्पोरेशनमा सरकारको समेत सेयर हिस्सा रहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij