शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

सन्दर्भ बालदिवस- बेसहारा बालिकाले पाए ‘आमाको माया’

  • प्रकाशित मिति : बुधबार, भदौ २९, २०७३



  • चितवन, ।    रातो घाँगरमा सजिएकी १२ वर्षीया कीर्तिका पुरी हँसिली देखिएकी छिन् । सिन्धुपाल्चोक सानो सिरुवारी–५ हो उनको घर ।

    २०६६ साल कात्तिक ४ गते दुर्घटनामा बुबा रामशरण पुरीको मृत्यु भयो । २०६८ साल चैतमा आमा ज्ञानु पुरीले एक्लै छाडेर गइन् । स्थानीयबाट उनको अवस्थाबारे जानकारी आएपछि चितवनमा रहेको ‘आमाको माया’ छात्राबासले चितवन ल्यायो । अहिले कीर्तिका हँसिली र रसिली भएकी छिन् । “गाउँमा भन्दा रमाइलो छ, हाँस्दै कीर्तिकाले भनिन, अब यहीँ बस्ने हो ।”

    कीर्तिकासँगै धादिङ गजुरीकी–६ वर्षीया मालती परियार पनि यहाँ रमाउँदैछिन् । हाल नर्सरीमा पढ्ने उनलाई बुबाआमा नै नभएपछि ज्याला मजदुरी गर्ने मामा माइजुले पालेका थिए । स्थानीय बालबालिका कार्यालय र सामाजिक सङ्घसंस्थामार्फत उनको उद्धार गरी ल्याइएको छ । उनी पनि अहिले खुसीसाथ बस्दै छिन् ।

    चितवनको कोराक किरनटारकी ६ वर्षीया लक्ष्मी तामाङको बुबाको पहिले नै मृत्यु भएको र आमाले गरिबीका कारण आत्महत्या गरेपछि उनको पनि उद्धार भएको आमाको मायाँ छात्राबासकी अध्यक्ष कृष्णकुमारी गिरीले बताए ।

    “घरमा ऋण धेरै, आम्दानी गर्ने बाटो थिएन, घर भूकम्पले भत्काएपछि, आमाले आत्महत्या गर्नुभयो, गिरीले भने, बालिका बेसहारा भएपछि हामीले ल्यायौँ ।”

    माघबाटै बालिकालाई आमाको माया दिन थालिए पनि २०७३ सालको वैशाखबाट चितवन भरतपुरमा महिला मिलेर ‘आमाको माया’ छात्राबास सञ्चालन गरिएको हो ।

    विभिन्न कारणले बुबाआमा नभएका बालिका यहाँ १६ जना पुगेका छन् ।
    बुबाआमा गुमाएका, सहारा नपाएका तथा भूकम्प प्रभावित, प्रकोप पीडित बालिकाकालाई राख्ने गरिएको छ । वार्षिक ५÷६ जना बढाउने र उनीहरुलाई उच्च शिक्षा दिने जनाइएको छ ।

    छात्राबासकी कोषाध्यक्ष साधना पोखरेलले भने, उनीहरुको भविष्य बनाउने जिम्मा समेत हाम्रै हो । अहिले सात जिल्लाका ६ देखि १२ वर्षका १६ जना बालिकाले आश्रय पाएका छन् । चितवनसहित मकवानपुर, धादिङ, मोरङ, ओखलढुङ्गा, सिन्धुपाल्चोक, नुवाकोटका बालिका बस्छन् । उनीहरुलाई एउटै पोसाक लगाइएको छ ।

    गाउँमा राम्ररी पढ्न नपाएका बालिकास्तरीय बोडिङ स्कुलमा पढ्दैछन् । भरतपुरमा रहेको हिलवर्ड बोर्डिङमा भर्ना गरिएको छ । वार्षिक प्रतिविद्यार्थी रु नौ हजार खर्च पढ्नका लागि छ । स्कुलले ५० प्रतिशत छुट दिएको छ ।

    अहिले आश्रय पाएका बालिका नर्सरीदेखि ७ कक्षासम्म अध्ययन गर्न थालेका छन् । विभिन्न दाताबाट आएको सहयोग जुटाएर उनीहरुको पालनपोषण र शिक्षादीक्षा दिइँदै आइएको अध्यक्ष कृष्णकुमारी गिरीले बताए ।
    उनीहरुलाई रेखदेखका लागि सावित्री ढकाललाई आमा बनाइएको छ ।
    गाउँमा आमा नभए पनि आमाको जस्तै मायाँ दिने गरी ढकाललाई राखिएको गिरीले बताए ।
    गिरीले दुई कट्ठा १० धुर जग्गामा बनेको भवनमा निःशुल्क बस्न दिएका छन् ।
    सदस्यबाट मासिक रु दुई हजार उठाएर छात्रबास सञ्चालन गर्छन् ।
    यहाँ मधेस आन्दोलनमा सहिद भएकाका छोरी, भूकम्प प्रभावित, आमाबुबा गुमाएका र बुबाआमाले छाडेर गएका बालिकालाई ल्याइएको छ ।

    उनीहरुको पालनपोषणका लागि मात्रै मासिक रु ६५ हजार खर्च हुन्छ । प्रारम्भिक चरणमा उक्त खर्च जुटाउनै समस्या रहेको सञ्चालक सदस्य कृपाराज भण्डारीले बताए ।

    भण्डारीले बालिकाका लागि रु २५ हजार दिए र बालिकालाई खाना समेत खुवाए । यसैगरी अन्यले पनि सहयोग गर्ने गरेका छन् । खुसी मनले यस्ता बालिकालाई सहयोग गरे पुण्य मिल्ने भण्डारीले बताए ।

    चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहका अनुसार जिल्लामा यस्ता बालबालिकाका लागि भनेर खोलिएका संस्था ३० भन्दा बढी छन् ।
    कतिपयले कानुन विपरीत काम गरे पनि कतिपय यस्ता संरक्षण केन्द्र नमुना बन्दै गएका छन् ।
    हराएका ४७ महिला तथा बालबालिका भेटिएनन्

    चितवनमा हराएका ८७ जना महिला तथा बालबालिकामध्ये ४० जना मात्रै फेला परेका छन् ।

    माइती नेपाल क्षेत्रीय कार्यालय चितवनका अनुसार गत एक वर्षमा ८७ मध्ये ४० जना फेला परेको र ४७ जनाको अवस्था अझै थाहा हुन सकेको छैन ।

    विसं २०७२ असोजदेखि २०७३ साल भदौसम्म यसरी ८७ जना बेपत्ता भएकामा अझै ४७ जनाको अवस्था अज्ञात रहेको माइती नेपालका क्षेत्रीय कार्यक्रम अधिकृत युवराज दवाडीले जानकारी दिए ।
    मुख्यगरी बेपत्ता हुनेमा बढी स्कुले तथा घरेलु हिंसामा परेका बालबालिका तथा श्रीमान विदेशिए पछि हराएका महिला रहेका छन् ।

    उनीहरुको परिवारले खोजीको अपिल गरी माइती नेपाललाई आग्रह गरेकामा ४० जना फेला परेको र ४७ जनाको खोजी जारी रहेको माइती नेपालले जनाएको छ ।

    उनले माइती नेपालले चितवनमा सेवा सुरु गरेपछि भने कुल ६९५ जना बेपत्ता भएको भन्दै खोजतलासको निवेदन परेकोमा अहिलेसम्म २०१ जना मात्रै फेला पार्न सकिएको जानकारी दिए ।
    यस्तै माइती नेपालका अनुसार विभिन्न जिल्लाबाट मानव तस्करले बेचबिखन गर्न लैजाँदै गर्दा चितवनबाट ११७ जना चेलीको उद्धार गरेको र १११ जनालाई परिवारमा पुनर्मिलन समेत गराएको जनाएको छ ।

    गोरखा, धादिङ, लमजुङ, नुवाकोटलगायत जिल्लाका चेलीलाई चितवन हुँदै भारत लैजाने गरेको पाइएको छ ।

    माइती नेपालले गएको एक वर्षमा चितवनमा २५४ जनालाई मानव बेचबिखनविरुद्धको तालिम दिएको, ४३० वटा सवारीमा अनुगमन गरेको, २९४ जनालाई सुरक्षित वैदेशिक रोजगारसम्बन्धी जानकारी दिएको र १३० जनालाई परामर्श दिएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij