आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रुकुममा १० वटा स्थानीय तह सिफारिस

  • प्रकाशित मिति : बुधबार, भदौ २९, २०७३



  • दाङ, ।   लामो समयको विवादपछि अन्तत रुकुममा सर्वदलीय समितिले सहमति गरेर स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति रुकुमलाई १० स्थानीय तह बनाउने निर्णय दिएको छ  । स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति रुकुम र जिल्लास्थित राजनीतिक दलहरुको बैठकले १० वटा स्थानीय तह बनाउने सहमति गरेको हो ।

    सहमति अनुसार रुकुममा १० वटा स्थानीय तह बनाउने सहमति भएको छ । दुई नगरपालिका र आठवटा गाउँपालिका गरी १० ओटा स्थानीय तह बनाउने निर्णय गरिएको हो । जिल्लाका विभिन्न ठाउँमा भएका कार्यक्रमबाट आएका सुझाव र जिल्लास्तरीय छलफलबाट जिल्लामा १० वटा स्थानीय सरकार बनाउने सहमति भएको स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति रुकुमका संयोजक एवं स्थानीय विकास अधिकारी भरतकुमार शर्माले जानकारी दिनुभयो ।

    जिल्लामा भएको निर्णयलाई स्थानीय तह निर्धारण आयोगमा पठाईने संयोजक शर्माले बताउनुभयो । देशभरमा ५ सय ६५ ओटा स्थानीय तह रहने स्थानीय तह निर्धारण आयोगको प्रस्ताव अनुसार रुकुममा २ वटा नगरपालिका र ४ वटा गाउँपालिका गरी ६ वटा स्थानीय तह हुने भनिएको थियो । तर, जिल्लाको भौगोलिक विशिष्ठता, जातीय सघनता, जनसंख्या र सहज सेवा सुविधा प्रवाहका हिसाबले स्थानीय तहको संख्या बढाउनु पर्ने आवाज उठेपछि यस्तो सहमति भएको हो ।

    जिल्लाभरबाट आएका सुझाव र प्राविधिक समिति तथा राजनीतिक दलबीचको लामो छलफलबाट १० वटा स्थानीय तहको माग गर्ने सहमति भएको प्राविधिक समितिका संयोजक शर्माले जानकारी दिनुभयो । सो निर्णय अनुसार जिल्लाको पहिचान बोकेका सिस्ने हिमाल, स्यार्युताल, सानीभेरी, ठूलीभेरी, उत्तरगंगा नदी, पुथा हिमाल तथा रुकुमको मगर संस्कृति भुम्या नाचको नामबाट पनि गाँउपालिकाको नामाकरण गरिएको छ ।

    सिफारिस गरिएका स्थानीय तहमा रन्मामैकोट, हुकाम र जाङको ८ र ९ नं वडालाई मिलाएर पुथा स्वायत्त गाउँपालिका बनाइने छ । जसको केन्द्र हुकामको गरघाट तोकिएको छ । उक्त गाउँपालिकाको जनसंख्या ६ हजार ९ सय ४३ रहेको छ भने १४ सय ३३ घरधुरी रहेको छ । यो गाउँपालिका जनसंख्याका आधारमा सबैभन्दा सानो हो । यसैगरी  तकसेरा, कोल, राङशी र जाङ वडा नं १ देखि ७ सम्मको भू–भागलाई मिलाएर उत्तरगंगा स्वायत्त गाउँपालिका तोकिएको छ ।

    उक्त गाउँपालिकाको केन्द्र कोलको त्रिवेणीमा बनाउने निर्णय भएको छ । १० हजार ९ सय ८९ जनसंख्या रहेको उक्त गाउँपालिकामा २ हजार ४ सय २८ घरधुरी रहेका छन् । यस्तै काँक्री, मोरावाङ, महत, काँडा, चुनवाङ र रुकुमकोटको वडा नं ४ मिलेर बनेको मगरहरुको पहिचान बोकेको गाउँपालिका भुम्या स्वायत्त गाउँपालिका सिफारिस गरिएको छ । जसको केन्द्र मोरावाङको चिसापानीमा रहने छ ।

    जुन गाउँपालिकाको जनसंख्या १८ हजार ५ सय ८९ रहेको छ । घरधुरी ३ हजार ८ सय ३५ रहेको छ । यस गाउँपालिकामा मगरहरुको बाहुल्यता छ । सिस्ने, प्वाङ, रुकुमकोटको ४ नं वडा बाहेकको अन्य भूभाग र स्यालापाखाको ३ र ४ नं बाहेकको अन्य वडा मिलाएर सिस्ने गाँउपालिका सिफारिस गरिएको छ । जसको केन्द्र रुकुमकोटमा राखिएको छ । रुकुमकोट रुकुम जिल्लाको पुरानो सदरमुकाम हो । १४ हजार ७ सय ३४ जनसंख्या रहेको यस गाउँपालिकामा ३ हजार १ सय ८० घरधुरी छन् ।

    यसैगरी पिपल, वाँफिकोट, मग्माको ७ र ८ बाहेक अरु वडा, झुला र दुलीका ४, ५ र ६ नं वडा मिलाएर स्यार्पू गाउँपालिका सिफारिस गरिएको छ । जसको केन्द्र बाँफिकोटको छिनखेतलाई तोकिएको छ । यसको जनसंख्या १८ हजार ६ सय ११ रहेकामा घरधुरी संख्या ३ हजार ७ सय ४७ रहेको छ । यसै गरी ठूलिभेरी गाउँपालिका मग्माको ७ र ८, गोतामकोट, स्यालाखदी, आठविसकोट, आठविसडाँडागाउँ र घेत्मा गाविस मिलेर बनेको छ । यस गाउँपालिकाको केन्द्र आठविसकोटको राडिज्युला रहेको छ । ३३ हजार ६ सय १ जनसंख्या रहेको यो गाउँपालिका जनसंख्याका आधारमा जिल्लाको सबैभन्दा ठूलो हो ।

    यहाँ ६ हजार ४ सय २१ ओटा घर रहेका छन् । सरदरमुकाम अवस्थित मुसिकोट नगरपालिकामा खलंगा, साँख, चौखावाङ, भलाक्चा, छिवाङ र स्यालापाखाका ३ र ४ नं वडा जोडिने छन् । यसको केन्द्र खलंगा बन्ने छ । घरधुरीका हिसावले जिल्लाको सबैभन्दा ठूलो यस नगरपालिकाको जनसंख्या ३२ हजार ९ सय ३९ रहेको छ । यस्तै रुघा, खारा, मुरु, पउघा र नुवाकोटको ३ नं वडा मिलेर त्रिबेणी गाउँपालिका बन्ने छ भने यसको केन्द्र रुघाको सिम्रुतु बन्ने छ ।

    जनसंख्या १९ हजार ४ सय ४ रहेको छ भने घरधुरी संख्या ३ हजार ६ सय ९ रहेको छ । सानीभेरी गाउँपालिकाका लागी सिम्ली, गरायला, दुलिका ४, ५ र ६ नं वडा बाहेक अन्य वडा, पुर्तिमकाँडाका ४, ५ र ९ नं वडाबाहेक अन्य वडा र अर्मा गाविस जोडिँदै छन्  । यहाँको जनसंख्या २२ हजार ९ सय ९४ रहेको छ भने घरधुरी संख्या ४ हजार १ सय २९ रहेको छ  र १० औं नम्वरमा नुवोकोटको ३ नं वडा बाहेकका अन्य वडा, खोलागाउँ, पुर्तिमकाँडाका ४, ५ र ९ नं वडा, कोटजहारी र विजयश्वरी गाविस मिलेर बन्ने यस नगरपालिकाको नाम र केन्द्र तोकिएको छैन ।

    चौरजहारी र जहारीमा सहमति नजुट्दा नाममा सहमति हुन नसकेको हो भने चौरजहारी बजारमा केन्द्र बनाउने कि खोलागाउँ चन्द्रबजारमा बनाउने भन्ने सहमति नजुट्दा केन्द्रको टुंगो नलागेको हो । स्थानीय तहको निर्वाचन पछिको नगर परिषदले त्यसको टुंगो लगाउने स्थानीय तह पुनर्संरचना प्राविधिक समितिका संयोजक शर्माको भनाई छ । स्यार्यु गाँउपालिकाको केन्द्रका लागि सोही ठाउँका केही मान्छेहरुले बिरोध गरेका छन् ।

    बाँफिकोटको कोटमा घर जग्गा भएका केही व्यक्तिहरुले बाँफिकोटमै केन्द्र हुनुपर्छ भनि ज्ञापनपत्र बुझाएका छन् । तर छिन्खेत पनि बाँफिकोटमै पर्दछ । झुला, दुली, मग्मा, पिपल र बाँफिकोटका लागि अत्यन्तै उपयुक्त ठाउँ भनि छिन्खेतलाई केन्द्र मान्ने प्राविधिक समितीको निर्णयलाई कोटमा घर र घडेरी भएकाहरुले बिरोध गर्नुको कुनै तुक नभएको स्थानीयको भनाइ छ ।

    बाँफिकोटको छिन्खेतमा केन्द्र निर्धारण भएपछि खुसी मनाउनुको सट्टा बिरोधमा उत्रिएपनि उनीहरुका बिरुद्धमा अर्काे समिती पनि गठन गर्ने निर्णय भएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij