प्रकाशित मिति : बिहिबार, भदौ ३०, २०७३
दाङ लक्ष्मीपुर ८ सुनपुरका रविलाल सार्कीले आफूलाई न्याय दिलाई दिन सबैसँग आग्रह गर्नुभएको छ । काभ्रे गाविस–४ अर्जामा रहेको आफ्नो पुख्र्यौली सम्पत्ती केहि व्यक्तिहरुले हडपेको लामो समय भैसक्दा समेत आफूले न्याय नपाएको पीडित सार्कीले बताउनुभयो ।
माओवादीका कारण २०६० साल असोजमा काभ्रे गाविसबाट आफू बिस्थापित भई लक्ष्मीपुर झरेको मौका छोपी त्यहाँका केहि व्यक्तिहरुले दुई वटा घर, एउटा गोठ, एउटा बाख्राको खोर भत्काएर लाखौं मुल्य बराबरको काठ जफत गरेको सार्कीले बताउनुभयो । साथै २०६२ सालमै आफ्नो करिव ९ रोपनी जग्गा क्षेत्रमा लगाइएका ४५ वटा ठूला रुखहरु समेत कटान गरेर लगेको उहाँको भनाइ छ ।
युद्धकालमा कुटपिट गरेर माओवादीले आफूलाई गाउँ निकाला गरेको मौकामा स्थानीयहरुले आफ्नो घर भत्काएको, काठहरु जफत गरेर लगेको, ठाडा रुखहरु कटान गरेर बिक्रिबितरण गरेको भन्दै सार्कीले क्षतिपूर्ति दिलाई दिन माग गरेका छन् । शान्ति स्थापनापछि आफ्नो सम्पत्तीको खोजी गर्न जाँदा आफूमाथि कुटपीट समेत भएको उहाँले बताउनुभयो ।
सहयोग गर्ने कोही मान्छे तथा आफन्तहरु नहँुदा आफूले अहिलेसम्म कहिकतै उजुरी नदिएको उहाँको भनाइ छ । द्वन्द्वकालमा बिस्थापित भए पनि कुनै राहत प्राप्त नसकेको उहाँले बताउनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij