प्रकाशित मिति : शुक्रबार, भदौ ३१, २०७३
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा चारदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार यहाँका विभिन्न राजनीतिक दलका नेता एवम् यहाँस्थित नेपाली प्रवासीसँग अन्तक्र्रिया गरे ।
भेटघाट तथा अन्तक्र्रियाका क्रममा उनले नेपाल–भारत सम्बन्धका विविध आयाम एवम् द्विपक्षीय हितका विषयमा कुराकानी गरेका हुन् । प्रधानमन्त्री दाहालले नेपाली जनता र आफ्नो मुलुकको हितका लागि आफू निरन्तर सङ्घर्ष गरिरहने यहाँस्थित नेपालीलाई विश्वास दिलाए ।
बिहीबार प्रधानमन्त्री दाहालले यहाँस्थित नेपाली राजदूतावासमा भारत विहारका मुख्यमन्त्री नितिशकुमार एवम् यहाँका विभिन्न राजनीतिक दलका नेतासँग छलफल गरेका हुन् ।
प्रधानमन्त्री दाहालको प्रतिनिधिमण्डलमा रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक एवम् परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले यहाँका प्रवासी नेपाली तथा राजनीतिक दलका नेतासँग भेटघाट भएको जानकारी दिए ।
प्रधानमन्त्री भारत आएदेखि नै भएका भेटघाटका विषयमा जानकारी दिँदै परराष्ट्रमन्त्री डा महतले भने, “प्रधानमन्त्रीलाई भेट्ने विभिन्न राजनीतिक दलका नेताहरु नेपालका पुराना मित्र हुन्, नेपालको लोकतान्त्रिक आन्दोलनदेखि हालसम्म नै सघाउँदै आएका थिए ।”
उनले नेपालको लोकतान्त्रिक पद्धति अझ राम्रो होस् भन्ने विश्वास राख्ने नेतासँग भएको भेटमा द्विपक्षीय हितका विषयमा कुरा गर्नुभएको बताए । नेपालका सन्दर्भमा प्रधानमन्त्री दाहालले नेपालमा लोकतान्त्रिक संविधान जारी भएको र त्यसमा भएका कतिपय समस्याहरु बाँकी छन् तीनलाई आन्तरिक प्रक्रियाबाटै समाधान गर्ने बताउनुभएको परराष्ट्रमन्त्री डा महतले जानकारी दिए। प्रधानमन्त्री दाहालको भनाइ उद्धृत गर्दै उनले भने, “नेपालको आन्तरिक मामिला हामी आफैंले समाधान गर्न हामी प्रयासरत छौँ र समाधान निकाल्छौँ ।”
मुख्यमन्त्री नितिशकुमारले प्रधानमन्त्रीलाई अर्को पटक भारत भ्रमणमा आउँदा विहार, पटना, बोधगया आउन प्रधानमन्त्री दाहाललाई निम्तो दिए । उनले विहारका विषयमा आफूले प्रधानमन्त्री दाहालसँग छफफल गरेको पनि बताए ।
उत्तर विहारमा आउने नेपाली नदी, सुरक्षा एवम् डुबानका विषय नेपाल र भारतका साझा मुद्दा भएका बताउँदै मुख्यमन्त्री नितिशकुमारले सबैका बारेमा आफूले छलफल गरेको बताए ।
नेपाल र भारतबीच लामो सिमाना भारतको पनि एक हिस्सा भएको र दुई देशबीचका जनताको सम्बन्ध दुई देशको नाताभन्दा पनि यो अरू स्वाभाविक सम्बन्ध भएको उल्लेख गरे ।
प्रधानमन्त्रीसँग भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीका महासचिव सीताराम यचुरी, नेसनललिस्ट काँग्रेसका महासचिव डिपी त्रिपाठी, जनता दल युनाइटेडका नेता शरद यादव लगायतका नेताले राजदूतावासमा भेट गरेका थिए ।
प्रवासी नेपालीको गुनासो, बैंक खातासम्म खोल्न पाइएन
भेटघाटका क्रममा वर्षौं एवम् पुस्तौंदेखि भारतमा रहेका नेपालीले आफ्ना दैनिक समस्यादेखि यहाँका सरकारसँग गर्नुपर्ने पहलका विषयमा प्रधानमन्त्री दाहालसँग समाधानका लागि अनुरोध गरेका छन् ।
रासन कार्डदेखि लिएर मतदानको अधिकारसम्म नेपालीले नपाएकामा त्यस विषयमा पहल गरिदिन आफ्ना प्रधानमन्त्रीसँग गुनासो गरेका हुन् । त्यसैगरी, उनीहरुले नेपालमा जारी भएको संविधानमा पनि आफ्नो अधिकार आवश्यक भएको भन्दै अब बन्ने संसद्मा आफूहरुको प्रतिनिधित्वको माग गरे ।
विगत लामो समयदेखि भारत बस्दै आउनुभएका मोहन कार्कीले सञ्चारमाध्यममा आउने समाचारका कारणले यहाँको प्रशासनले नेपालीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ । उनले भने, “पछिल्लो समयमा यहाँका प्रहरी, प्रशासन हामीमाथि अफेन्सिभ आक्रामक तवरले प्रस्तुत हुन्छन्, त्यसले गर्दा आफ्नो दैनिकीमा पनि समस्या भोग्नु परेको छ ।”
बोर्डरको समस्या, पेन्सन, बैंकमा खाता खोल्ने समस्या छ, प्रत्येक गणतान्त्रिक सरकारलाई आफूले अनुरोध गरेपनि भारत प्रवासको समस्या समाधान नभएको गुनासो विगत ४५ वर्षदेखि भारतमा बस्दै आएका रघुनाथ ज्ञवालीको छ ।
भारतीय सरकारी एवम् गैरसरकारी कार्यालयमा कार्यरत नेपालीको पेन्सन भारतको सिमानाका बैंकसम्म मात्र जाने गर्दछ, नेपालभित्रका बैंकमा पठाइँदैन, त्यसले गर्दा पेन्सन तथा तलब बुझ्न नेपालीले दुःख भोग्नु परेको उनीहरुको गुनासो थियो ।
– See more at: http://www.ratopati.com/news/79285/#sthash.vRFCZxMh.dpuf
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij