काठमाडौं । कम्पनी मालिकले तलव दिनुको साटो उल्टै कुटपिट गर्न थालेपछि अलपत्र परेका सात नेपाली युवालाई प्रहरीले साउदी अरबाट उद्दार गरेर काठमाडौं ल्याएको छ । बाँकेको नेपालगञ्ज स्थित कर्णाली मेनपावरमार्फत राम्रो काम पाउने आश्वासन पाएका सात युवाहरु साउदीको HASA EL-DOSSRI FOME SAUDI नामक कम्पनीमा पुगेका थिए ।
मेनपावरले संझौता गरे अनुसारको तलव नदिएको र तलव माग्न जाँदा पटक–पटक कम्पनीका मान्छेले कुटपिट गरेको उजुरीका आधारमा साउदीस्थित नेपाली दूतावास तथा अन्य निकाय समेतको समन्वयमा उद्दार गरेर नेपाल फर्काइएको महानगरीय अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए ।
अपराध महाशाखाको हटलाईन नम्बरमा गरेको उजुरीका आधारमा उद्दार गरेर नेपाल फर्काइएका हरुमा बर्दियाका देबबहादुर कँडेल, मुगुका रनबहादुर रोकाया, बाँकेका मोहम्मद आरुन खान र निशार खान, बर्दियाका खगेन्द्रनाथ योगी, बाँके मनिकापुरका लिल बहादुर रोक्का मगर तथा बाँकेकै पुरौना स्थायी घर भएका मोहम्मद सबिर खान रहेका छन् ।
उनिहरुले साउदीमा खान बस्न समेत समस्या रहेको भन्दै २०७३ साउन पहिलो साता महाशाखाको हटलाईन नम्बरमा उजुरी गरेको महाशाखाले जनाएको छ ।