प्रकाशित मिति : शनिबार, अशोज १, २०७३
काठमाडौं । भारतले ‘समावेशी संवादमार्फत असन्तुष्ट पक्षका माग सम्बोधन गरेर मात्र नयाँ संविधान कार्यान्वयनमा ल्याउन नेपाललाई दबाब दिएको छ । संविधानलाई स्वागत र समर्थन गर्न नेपालले गरेको आग्रह उसले पुनः अस्वीकार गरेको छ । भारतको चारदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटवार्तामा उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संविधानमा असन्तुष्ट सबै पक्षका आकांक्षा समेट्न आग्रह गरे ।
‘तपार्इं (पुष्पकमल दाहाल) नेपालको शान्तिका एक उत्प्रेरक शक्ति हुनुहुन्छ,’ नयाँदिल्लीमा शुक्रबार नेपाल–भारत द्विपक्षीय बैठकपछि संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने, ‘तपाईको बुद्धिमानी नेतृत्वमा समावेशी संवादमार्फत विविधताले भरिएको नेपाली समाजको सबै पक्षको आकांक्षा समेटी नेपाल संविधान कार्यान्वयन गर्न सफल हुनेमा म विश्वस्त छु ।’
भारतीय प्रधानमन्त्री मोदीले असन्तुष्ट पक्षको माग सम्बोधन गरी नयाँ संविधान कार्यान्वयनमा ल्याउन दाहालले गर्ने प्रत्येक प्रयासको सफलताका लागि शुभकामना पनि दिएका थिए । नेपाल–भारत द्विपक्षीय बैठक बस्नुअघि प्रधानमन्त्री दाहाल र मोदीले ‘वान अन वान’ वार्ता गरेका थिए । करिब आधा घन्टा भएको एक्लाएक्लै वार्तामा दाहालले भारतीय समकक्षीलाई नेपालको संविधानलाई स्वागत गर्न मनाउने प्रयास गरेका थिए । प्रधानमन्त्री दाहाल निकट स्रोतअनुसार मोदीले नयाँ संविधानको स्वागत गर्न अस्वीकार गरेका थिए ।
भेटमा मोदीले स्पष्ट रुपमा संविधानप्रति जो असन्तुष्ट छन्, तिनका माग सम्बोधन गर्न आग्रह गरेका थिए । उनले असन्तुष्ट पक्षका माग सम्बोधन गरे मात्र संविधान कार्यन्वयन हुने र नेपाल शान्ति, स्थिरता र समृद्धिको बाटोमा अघि बढ्ने दाहाललाई स्मरण गराएका थिए ।
दाहालले भने संविधान कार्यान्वयनका लागि असन्तुष्ट पक्षका माग सम्बोधन गर्ने प्रक्रिया आफूले सुरु गरिसकेको जानकारी गराएका थिए । त्यसपछि भारतीय प्रधानमन्त्री मोदीले ‘अहिले तपाईंले चालेको कदम ठिक छ, साथमा छु,’ भनेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij