प्रकाशित मिति : आइतवार, अशोज २, २०७३
काठमाडौं । ८ बर्षअघि उस्तै मितिमा भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको त्यतिबेलाको भ्रमणको एजेन्डा र अहिलेको एजेन्डा खासै फरक र नौलो रहेनन् । २०६५ साउन ३१ गते गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएको एक महिनापछि अर्थात भदौ २९ गतेदेखि असोज २ गतेसम्म उनी प्रधानमन्त्रीको हैसियतमा पहिलो भारत भ्रमणमा गएका थिए । प्रचण्डले भारत जानूपूर्व नै नयाँ केही सन्धी सम्झौता नहुने बताएका थिए ।
यसअघि उनले जुन एजेन्डामा भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहसँग छलफल गरेका थिए ८ बर्षअघि अहिले प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरेका छन् । फरक यत्ति देखिएको छ कि एजेन्डा एउटै छलफल गर्ने पात्र भने फरक ।
प्रधानमन्त्री प्रचण्डले भारतमा गएर उठाएका मुद्धा स्वंय भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २ बर्ष अघि २०७१ साल साउन १८ नेपालमा भ्रमणमा क्रममा समेत उठाएका थिए । बर्षौदेखि उठेदै आएका त्यस्ता साझा मुद्धा तथा योजनाका कामहरुलाई अघि बढाउनेबारे दुई देशबिचमा सम्झौता पनि नभएको भने होइन ।
दोहोरिने एजेन्डा
१) बहुचर्चित पञ्चेश्वर जलविद्युत आयोजनालाई अगाडि बढाउने
२) सन् १९५० को नेपाल–भात सन्धी पुनरावलोकन गर्ने
३) नेपालबाट भारततर्फ गएका नदीका कारण बर्षायाममा हुने बाढीको समस्या र नियन्त्रण
४) खुला सिमानाका कारण हुने आपराधिक गतिविधी नियन्त्रण र सुरक्षा प्रवन्धको ब्यवस्था
५) जलविद्युत आयोजनाहरुलाई अगाडि बढाउने, बिद्युत प्रशारण लाइनको विस्तार
६) सिंचाई, सडक तथा रेलमार्गसम्बन्धी मुद्धाहरु
७) दुई देशका विचमा ब्यपार तथा वाणिज्य सन्धि पुनरावलोकन
८) तराईमा हुलाकी सडक निमार्ण र बिस्तार
९) सिमा विवाद र समाधान
१०) भूपरिवेष्ठित मुलुकले पाउनुपर्ने पारवहन सेवा, काँकडभिट्टादेखि बंगलादेश सम्मको पारवहन, विशाखापट्टनम् बन्दरगाह सञ्चालन ।
दोश्रो पटक प्रधानमन्त्री भएर दोश्रो पटक नै भारत भ्रमणमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरी यिनै मुद्धा उठाएका हुन् । तर माथि उल्लेखित एजेण्डामध्ये केही चर्चित एजेण्डा भने प्रधानमन्त्री प्रचण्डले उठाएनन् । त्यि मुद्धा मध्ये पहिलो सन् १९५० को नेपाल भारतबिचमा भएको सन्धी र त्यसको पुनरावलोकन र दोश्रोमा नेपाल भारत सिमा सुस्ता, कालापानी तथा लिपुलेकका बिषयमा न कुनै कुरा उठ्यो नत सम्झौता नै भयो ।
नेपालमा नयाँ सरकार गठनसँगै प्रधानमन्त्रीहरु आफ्नो कार्यकाल लामो र सफल होस भनेर मन्दिरमा पूजाअर्चना गर्न जानुपहिले भारत भ्रमणमा जाने चलन अब नौलो र आश्र्चयजनक रहेन । जतिपटक सरकार फेरिन्छ, उनीहरुले भ्रमणका क्रममा उठान गर्ने भनेर बोकेका एजेन्डाहरु सधै उस्तै हुने गरेका छन् । प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि यसअघिका प्रधानमन्त्रीहरुले पनि उनले अहिले भारतसँग उठाएजस्तै एजेन्डाका पुलिन्दा बोकेर गएका थिए ।

लोकतान्त्रिक गणतन्त्रपछि प्रधानमन्त्रीको भारत भ्रमण
नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएसँगै हालसम्म ५ पटक नेपालमा प्रधानमन्त्रीले भारत भ्रमण गरेका छन् । २०६५ भदौ २९ गतेदेखि असोज २ गतेसम्म पुष्पकमल दाहाल प्रचण्ड, २०६६ भदौ २ गतेदेखि ६ गतेसम्म माधव कुमार नेपाल, २०६८ कार्तिक ३ गतेदेखि ६ गतेसम्म डा.बाबुराम भट्टराई, २०७२ फागुन ७ गतेदेखि १२ गतेसम्म केपी शर्मा ओली र २०७३ भदौ ३० गतेदेखि असोज २ गतेसम्म पुष्पकमल दाहाल प्रचण्ड ।
यो बिचमा २०६७ माघ २० गते प्रधानमन्त्री बनेका एमाले नेता झलनाथा खनाल, २०६९ चैत १ गते प्रधानमन्त्री बनेका सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधिस खिलराज रेग्मी र २०७० माघ २७ गते प्रधानमन्त्री बनेका नेपाली कांग्रेसका तत्कालीन सभापति सुशिल कोइरालाको भने भारत भम्रण भएन् ।
नेपालबाट औपचारिक भ्रमणका लागि भारत गएका प्रधानमन्त्रीहरुले प्रस्तुत गर्ने उस्तै प्रकृतिका एजेन्डामाथि हरेक पटक सम्झौंतामा हस्ताक्षर पनि हुने गरेको छ । तर प्रधानमन्त्री स्वदेश फर्किएपछि दुई देश बिचमा उठाइएका मुद्धा तथा एजेन्डाहरु कार्यान्वयन प्रक्रियामा अघि बढ्न नसक्ने गरेको पुरानै रोग हो ।
परिवर्तन भएन कुटनीति शैली
नेपाल भारत सम्बन्धका जानकारहरु नेपालको मगन्ते कुटनीतिक शैलीका कारण दुईदेश बिचमा हुने सम्झौताहरुले भारतले पालना नगर्ने गरेको बताउँछन् । सीमापवद् बुद्धिनारायण श्रेष्ठ भन्छन्–“नेपालले अब मगन्ते कुटनीतिलाई छोडेर सहकार्य कुटनीतिमा जोड दिनुपर्छ । मगन्ते कुटनीतिका कारण भारतले सहयोगका नाममा गर्ने हस्तक्षेप हानिकारक छ ।” नेपाल भारत बिचमा सुगौली सन्धीपछि कैयौ पटक सन्धी–सम्झौताहरु भएका छन् । यस्ता सम्झौताहरुमध्ये आफ्नो पक्षमा अहित हुनेखालका र आफूलाई फाइदा नहुने खालका सम्झौताहरु भारतले वास्ता नगर्ने गरेको परराष्ट्रविद्हरु बताउछन् ।
भारतले सानातिना विकासका काम तथा आर्थिक सहयोगलाई जारी राखेपनि सिमा समस्या, डुवानका समस्या, सम्झौता भएका जलविद्युत परियोजनालाई अगाडि बढाउन भारतले ध्यान नदिने गरेको सीमाविद् बुद्धीनारायण श्रेष्ठ बताउछन् ।
नेपाल भारत बिचमा १८ सय किलोमिटर भन्दा बढी खुला अब्यवस्थित तथा अनियन्त्रित सिमाना छ । दुईदेशबिचमा भएको खुला सिमानामा कारण एउटा देशमा अपराध नियन्त्रणमा कठिनाई हुने गरेको छ । नेपालबाट भारततर्फ सानाठुला ६० ओटा नदी भारततर्फ जाने गरेको छ । सिमासँगै बर्षायामका बेला दुईदेशको साझा समस्याका रुपमा बाढी र डुवान हुने गरेको छ । तर समस्या समाधानका लागि कुटनीतिक प्रयास दरिलो हुन् सकेको छैन् ।
झन्डै २१ बर्षअघि २०५२ माघ २९ गते महाकाली नदीमा दुवै देशलाई फाइदा पुग्नेगरी बहुउद्धेश्यीय पञ्चेश्वर जलविद्युत आयोजना अगाडि बढाउने सम्झौता भएको थियो । तर यसमा बर्षौ बितिसक्दा पनि भारतले काम अघि नबढाई आयोजना ओगटेर बसेको छ ।

नेपाल भारत सम्बन्धको ग्राफ
नेपाल–भारतबिच ऐतिहासिक, राजनीतिक तथा सामाजिक रुपमा लामो समयदेखि सम्बन्ध रहेपनि बेलाबखत दुईदेश बिचमा दरार पैदा हुने गरेको छ । दुईदेशबिचमा उत्पन्न हुने दरारमा राजनीतिक कारण नै रहने गरेको देखिन्छ । तर यस्ता कारणपनि ठूलो नभएर सानातिना कारणमै भारतले चित्त दुखाउने गरेको इतिहाँसका घटनाक्रमहरु हेर्दा थाहा हुन्छ ।
१) २०१८ सालमा तत्कालीन राजा महेन्द्रले चिनसँग सम्बन्ध अघि बढाउदै दुईदेशबिच सडक संजाल जोड्न कोदारी राजमार्गको काम अघि बढाएपछि २०१९ साल बैशाखदेखि असोजसम्म भारतले नेपालमाथि नाकाबन्दी लगायो ।
२) २०२७ सालमा भारतको खटनपटन नमानेको बिषयलाई लिएर भारतले केही महिना नाकाबन्दी गर¥यो । तर त्यतिबेला नेपाल खाद्यान्नमा आत्मनिर्भर भएकोले त्यसको कुनै प्रभाव परेन ।
३) २०४५ सालमा नेपालले चीनसँग हतियार खरिद गरेको बिषयलाई लिएर भारतले नेपालमाथि १३ महिनासम्म आर्थिक नाकाबन्दी लगायो ।
४) २०४५ साल चैत १० गते सकिएको पारवहन सन्धीलाई नवीकरण गर्न मानेन् । यो नेपालले अझै नियमित रुपमा भारतसमक्ष उठाउदै आएको मुद्धा हो ।
५) २०७२ असोज ३ गते संविधानसभाबाट नेपालको संविधान २०७२ जारी भएपछि भारतले असोज ६ गतेदेखि माघ २१ गतेसम्म ६ महिना अघोषित नाकाबन्दी ग¥यो ।
नेपाल–भारतबिचका अन्य सम्बन्धहरु जस्तै ऐतिहासिक, धार्मिक, सामाजिक सम्बन्धमा उतारचढाव नआएपनि राजनीतिक सम्बन्धमा भने निरन्तर उतारचढाव आइनै रहने गरेको छ । प्रजातन्त्र स्थापना पछि नेपाल भारतबिच तलमाथि रहेको सम्बन्धको ग्राफ २०७१ साउनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौ आँउदा ह्वाक्तै माथि पुगेको थियो । प्रधानमन्त्री मोदीले संसदमा भाषण गर्दै नेपाल भारत बिच भएका सबै सम्झौतालाई अगाडि बढाउने उद्घोष गरेपछि सम्बन्धको ग्राफ माथि पुगेपनि असोजदेखि माघसम्म भारतको अघोषित नाकाबन्दीले नेपालभारत सम्बन्धको ग्राफ ओरालो झरेको थियो ।
यतिबेला भारत भम्रणका क्रममा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छन् । उनले पनि उही पुरानै एजेन्डा अघि सारेपनि दुईदेश बिचको सम्बन्धमा सुधार हुँदै गएको संकेत भने देखिएको छ । यतिबेला पूरानै एजेण्डामा पूरानै शेलीले भएको एजेण्डा कार्यान्वयनमा आँउछ वा आँउदैन । यसका लागि भने केही समय कुर्नै पर्ने हुन्छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij