प्रकाशित मिति : सोमवार, अशोज ३, २०७३
पर्वत । जिल्लाको मुडिकुवा–५ मा जमिन भासिँदा झन्डै १५ घर जोखिममा परेका छन् । अविरल वर्षाका कारण जमिन भासिँदा मुडिकुवा गाविसको माटेदेबल मन्दिर नजिकका करिब १५ घर जोखिममा परेको स्थानीयवासीले बताएका हुन् ।
“मन्दिरनजिक ठूल्ठूला खाल्डा परेका छन्,” स्थानीय पुजारी शिव पुरीले भने –“जमिनमा परेका खाल्डाका कारण मन्दिरसहित नजिकका करिब १५ वटा घर जोखिममा परेका छन् ।” जमिन भासिने क्रम नरोकिए मन्दिर नजिकका घर विस्थापित बन्ने अवस्था आउने स्थानीयवासी देवीप्रसाद विलासीले बताए । विलासीका अनुसार जमिन भासिँदा निकै ठूला खाल्डा परेका छन् ।
खाल्डामुनिबाट पानी बग्दै जाँदा जमिनको अन्य सतह पनि भासिन सक्ने अनुमान स्थानीयवासीले गरेका छन् । गाविसको ऐतिहासिक मन्दिरका रुपमा रहेको माटेदेबल मन्दिर परिसरमा मात्र दुईवटा ठूला खाल्डा परेका छन् । “जमिन भासिनेक्रम रोकिएको छैन,” पुरीले भने – “खाल्डो निकै ठूलो भएका कारण त्यसले जमिनमुनि कतिसम्म असर गरेको छ यकिन गर्न कठिन छ । जमिन भासिँदै जाँदा कृषकले लगाइराखेको धान खेत पनि जमिनमुनि गड्न थालेको छ ।”
ऐतिहासिक मन्दिर संरक्षणको प्रयास स्थानीयवासीबाट भइरहे पनि जमिन भासिने क्रम नरोकिएपछि संरक्षण अभियानसमेत समस्या परेको स्थानीयवासी विलासीले बताए। “गाविसको इतिहाससँग जोडिएको मन्दिरको व्यवस्थापनमा जमिन भासिँदा समस्या परिरहेको छ,” विलासी भने – “यसले मन्दिरवरिपरि रहेका घर पनि जोखिममा परेका छन् ।”
जमिनको भित्री सतहमा धेरै पानी भएका कारण जमिन गलेर भासिएको हुनसक्ने स्थानीयवासी विष्णुप्रसाद तिवारी बताउँछन् ।
यसैबीच, पर्वतको भुकदेउरालीमा जमिन फाट्दा त्यहाँका पाँच परिवारसमेत विस्थापित भएका छन् । भुकदेउराली गाविसको भुकताङलेको जमिन भाँसिदा स्थानीय पाँच परिवार त्यहाँबाट विस्थापित भएको स्थानीय डिलबहादुर गुरुङले जानकारी दिए । विस्थापित भने सुरक्षित स्थानमा बास बसिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । बुधबार वर्षासँगै खसेको पहिरोले उनीहरु विस्थापित हुनपुगेका हुन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij