प्रकाशित मिति : बिहिबार, अशोज ६, २०७३
भीमदत्तनगर । गएरातिको अविरल वर्षाले दोदा नदीमा आएको बाढीका कारण कञ्चनपुरको शङ्करपुर गाविसका पाँच परिवार विस्थापित भएका छन् ।
वर्षाका कारण बाढी गाउँ पस्दा शङ्करपुर गाविस–४ का विनोद चौधरी, मीनबहादुर चौधरी, भीम चौधरी, सुन्दर चौधरी र टाँकाराम चौधरीको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।
डुबानमा परेका स्थानीयवासीलाई प्रहरीले उद्धार गरी नजिकैको बोर्डिङ स्कुलमा राखेको जिप्रका, कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले बताए।
उनले दिएको जानकारीअनुसार दोदामा आएको बाढीले शङ्करपुर गाविसकै कञ्ज, कस्वा, नन्दगाउँलगायतका बस्तीका केही घरमा पानी पसेको छ ।
त्यसैगरी वर्षाकै कारण स्थानीय खहरे खोलामा बाढी आउँदा यहाँको कृष्णपुर नगरपालिका–६ पवित्राबस्तीका केही स्थानीयवासीका घरसमेत डुबानमा परेको प्रहरीले जनाएको छ ।
त्यसैगरी कृष्णपुर नगरपालिका–१ दोमिल्लामा स्थानीय धारापानी खोलामा आएको बाढीले दुई परिवार विस्थापित भएको स्थानीय दानबहादुर खत्रीले राससलाई जानकारी दिए । उनले बाढीका कारण करिब ३० जनाभन्दा बढी किसानको धानबालीमा समेत क्षति पुयाएको बताए ।
“तयार भएको धानबालीमा बाढीले पूरै बालुवाले पुरेर बगर भयो ।” उनले भने – “खोला नियन्त्रणमा नआउँदासम्म स्थानीय पीडितहरु छिमेकीको घरमा आश्रय लिँदैछन् ।” जिप्रका कञ्चनपुरले बाढी डुबान क्षेत्रमा प्रहरी प्रशासन उपस्थित भइसकेको जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij