प्रकाशित मिति : शुक्रबार, अशोज ७, २०७३
कपिलवस्तु । सरकारले दिने दुई करोड ५० लाख अनुदान रकम कपिलवस्तुका उखु किसानले नपाएको गुनासो गरेका छन् । गत वर्ष कपिलवस्तुको जवभारीमा रहेको महालक्ष्मी सुगर्स प्रालि र किसानबीच विवाद हँुदा सरकारले किसानलाई दुई करोड ५० लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको थियो ।
नेपाल सरकारले तोकेबमोजिम रकम मिलले नदिएपछि किसान र मिल सञ्चालकबीच विवाद भएको हुँदा सरकारले रकम दिने अश्वासन दिएको थियो । सरकारले प्रतिक्विन्टल उखुको मूल्य रु ४६१ दिने घोषणा गरेपनि कपिलवस्तुमा मिल सञ्चालकले प्रतिक्विन्टल रु ४३६ मात्र दिएका थिए । बाँकी रु २५ रुपैयाँ सरकारले दिने सभmौता भएको थियो । किसानलाई एक वर्ष बित्दा समेत सरकारले रकम दिन आनाकानी गरिरहेको कपिलवस्तु किसान सङ्घका अध्यक्ष अनुपकुमार चौधरीले बताए ।
कपिवलस्तुका पाँच हजार किसानले अनुदान रकम नपाएको बताएका छन् । पटकपटक सरकार र मिल सञ्चालकलाई अनुरोध गर्दासमेत कुनै सुनुवाइ नभएको किसानले बताएका छन् ।
कृषि मन्त्रालयमा धाउँदासमेत कहिले अर्थ मन्त्रालयबाट रकम निकासा नभएको त कहिले मिल मालिकले कागजपत्र नपठाएको भन्दै दुःख दिने काम गरेको शिवराज नगरपालिका मोतिनगरका रामकिशोर चौधरीले बताए । अन्य जिल्लाका किसानले रकम बुझिसके हामीले कहिले रकम पाउने भन्दै कपिलवस्तु बहादुरगन्जका रामेश ठाकुरले अक्रोश व्यक्त गरे । कपिलवस्तुका किसानको सयदेखि पाँच हजार क्विन्टलसम्मको रकम नपाएको बताएका छन् ।
महालक्ष्मी सुगर्स प्रालि जवभारीका उखु प्रबन्धक हरिनारायण चौधरीले मिलमा छिमेकी मुलुक भारतको पनि उखु आउने भएकाले समय अभावले गर्दा तत्काल काम गर्न कठिनाइ भएको बताए। कागजपत्र ढिलो पठाइएको स्वीकार गर्दै अब चाँडै नै मन्त्रालयबाट रकम निकासाका लागि पहल गर्ने उखु प्रबन्धक चौधरीले बताए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij