प्रकाशित मिति : शुक्रबार, अशोज ७, २०७३
दाङ। राप्तीको पहाडी जिल्ला रुकुमबाट काठमाडौं रेफर गरिएकी एक जना बिरामी महिलाको हवाईजहाजमा मृत्यु भएको छ।
चौरजहारी अस्पतालले थप उपचारका लागि काठमाडौं रेफर गरेकी चौरजहारी नगरपालिका-५ लापुलेगाउँ निवासी ५४ वर्षीया वसन्ता केसीको हवाईजहाजमै बिहीबार दिउँसो मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।
चौरजहारी विमानस्थलदेखि काठमाडांैका लागि उडेको नेपाल वायुसेवा निगमको जहाजमा केसीको निधन भएको मृतकका देवर मोतीप्रसाद पोखरेलले बताए। बिहीबार दिउँसो २ बजेर २५ मिनेटमा उडेको जहाज काठमाडौं विमानस्थलमा अवतरण गर्नुपूर्व नै केसीको मृत्यु भइसकेको थियो।
५४ वर्षीया केसी उच्च रक्तचापको बिरामी हुन्। उक्त समस्याले गर्दा चौरजहारी अस्पतालले उनलाई थप उपचारका लागि काठमाडौं रेफर गरेको थियो। मृतकको शव शिक्षण अस्पताल लगिएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij