प्रकाशित मिति : शुक्रबार, अशोज ७, २०७३
काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग भएका तीन बुँदे सम्झौता अनुसार संविधान संशोधन तयारी भइरहेको सत्तापक्षले बताइरहेको छ तर त्यसको बारेमा मधेशीका नेताहरु अनभिज्ञ छन् ।
नकेपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ ले आफ्ना निकटहरुसँग छलफल गरी सविधान संशोधनको प्रस्ताव संसदमा लैजाने तयारीमा जुटेको बेला मधेशी मोर्चाका नेता भने आफूहरुसँग सल्लाहै नगरिकन आउने प्रस्ताव स्वीकार गर्न बाध्य नहुने बताइहेका छन् ।
प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएपछि यो एक महिनाभित्र संविधान संशोधनको प्रस्ताव लैजाने भन्दै आएका थिए । तर, उनको प्रतिबद्धता भने हालसम्म पूरा भएको छैन । गत साउन १९ मा प्रधानमन्त्री भएका अध्यक्ष प्रचण्ड गृहकार्य अन्तिमचरणमा पुगेको मधेशी मोर्चाका नेताहरुलाई जनकारी दिएका छन् ।
नागरिकता, भाषा, सिमांकनलगायतको विषयमा आन्तरिक छलफल गरी प्रस्ताव तयार गरिएको बुझिएको छ । विवादीत पाँच जिल्ला कैलाली, कञ्चनपुर, झापा, मोरङ र सुनसरीको बारेमा एउटा आयोग बनाएर टुगों लगाउने तयारी रहेको बुझिएको छ भने भाषा आयोगले दिने प्रतिवेदनमा आधारमा हिन्दी र अंग्रेजी भाषालाई पनि कामकाजको भाषा बनाउने तयारी रहेको बुझिएको छ ।
यद्यपि प्रधानमन्त्री प्रचण्डले कस्तो तयारी तथा गृहकार्य गरिरहेको विषयमा आफूलाई केही थाह नभएको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो बताउँछन् । उनले आफूले प्रधानमन्त्री प्रचण्डलाई भेटेपनि उनले सविधान संशोधनको प्रस्तावमा गृहकार्य भइरहेको र चाँडै हुने मात्र भनेको बताए ।
मधेशी मोर्चाका नेताहरुसँग छलफल गरि संविधान संशोधनको प्रस्ताव अन्तिमचरणमा रहेको कुरा बाहिर आएपछि मधेशी मोर्चाका नेताहरुबीच अन्योलता देखिएको छ ।
मधेशी मोर्चाका नेताहरुले प्रधानमन्त्री प्रचण्डले कोसँग छलफल गरेर संशोधन प्रस्ताव ल्याउन लागेको हो भनि एक अर्कालाई सोध्न थालेका छन् ।
यसैबीच प्रधानमन्त्री प्रचण्डले मधेशी मोर्चाका नेता एवं तराई मधेश लोकतान्त्रिक पार्टीको अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई छुट्टा छुट्टै भेटेर छलफल गरेका छन् । संविधान संशोधनको बारेमा मोर्चाका नेताहरुसँग सामूहिक छलफल भएको छैन ।
भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री प्रचण्डले भदौ २९ गते मधेशी मोर्चा तथा संघीय गठबन्धनका नेताहरुलाई बोलाएर संविधान संशोधन प्रस्ताव किन लग्न सकिएन विषयमा जानकारी गराएका थिए । त्यसबाहेक प्रधानमन्त्री बने यता मधेशी मोर्चासँग कहिल्यै छलफल भएको छैन ।
नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले भने, ‘म पनि सुन्दैछु, संविधान संशोधनको प्रस्ताव पेस गर्ने गृहकार्य अन्तिम चरणमा पुगेको छ रे । त्यो कहाँ पुग्यो, के हुँदैछ त्यसका बारेमा पनि बुझ्दैछु ।’ प्रधानमन्त्री प्रचण्डले सविधान संशोधनको बारेमा को कोसँग छलफल गरे, आफूलाई थाह नभएको बताउँदै अध्यक्ष झाले उनी प्रधानमन्त्री भएपछि एक दिन मात्रै सामुहिक भेटेको बताए ।
तर अनिल झाभन्दा अलि फरक विचार राख्छन् राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारी । उनले आफूहरुसँग छलफलै नगरे पनि संविधान संशोधन भए त्यो पनि राम्रो हुने टिप्पणी गरे । प्रस्ताव आइसकेपछि मात्र टिप्पणी गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष भण्डारीले भने, ‘मैले पनि प्रधानमन्त्रीलाई भेटेको छैन तैपनि संविधान संशोधन प्रस्ताव चाँडै आउनु पर्ने पक्षमा छु ।’
तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले संशोधन प्रस्ताव सबैको सामूहिक छलफलमा जानुपर्ने जोड दिए । कसैले व्यक्तिगत भेटेर प्रधानमन्त्री प्रचण्डलाई सुझा दिन्छन् भने त्यो बेग्लै कुरा हो तर सामूहिक छलफल नगरिकन कुनै निर्णय आयो भने त्यसलाई स्वीकार गर्न सकिँदैन,’ उनले भने ।
मोर्चाका नेताहरुले छुट्टाछुट्टै भेटेकोमा आफ्नो कुनै आपत्ति नरहेको बताउँदै उनले संसदमा प्रस्ताव लैजानुभन्दा पहिले मोर्चामा छलफल हुनेछ भने कुराका आफूलाई विश्वास रहेको बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij