प्रकाशित मिति : शुक्रबार, अशोज ७, २०७३
काठमाडौ । चाडबाडमा सस्तो मूल्यमा सामान विक्रीका लागि सरकारसंग सहमति गरेका खुद्रा व्यापारीले एकसाता वितीसक्दा पनि उपभोक्तालाई सस्तो सामान विक्री गर्न मानेका छैनन् । भदौ ३० गते आपूर्ति मन्त्रालयमा भएको छलफलमा साल्ट ट्रेडिङ्गले उत्पादन गरको सामान किनेर विक्री गर्ने सहमति गरेपनि अहिलेसम्म सामान लगेका छैनन् ।
संघले असोज एक गतेदेखि एक हजार पसलहरुबाट सस्तो सामान विक्री गर्ने प्रस्ताव राखेको थियो । तर एक सातासम्म पनि पसल तोक्न सकेका छैनन् । यस विषयमा छलफल भैरहेको खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले बताए । ‘पहिला एक हजार भनेर प्रस्ताव गरीएको हो तर पछि छलफलको क्रममा समितिका सदस्यहरुको पसलबाट मात्र विक्री गर्ने भन्ने कुरा आयो’ उनले भने ‘त्यसका लागि छलफल गरीरहेका छौँ ।’
आफ्नो समितिभित्र देखिएको बिवादका कारण सरकारले दिने सस्तो सामान विक्री गर्न नसकेका उनीहरु दोस भने सरकारलाई देखाएर पन्छिने गरेका छन् । सरकारले नै पसल पसलमा सामान पु¥याई दिनुपर्ने माग राखेको तर त्यो नमानेका कारण बिक्री गर्न नसकिएको बताए । ‘हाम्रो प्रस्ताव डेलिभरी सहित पु¥याउने भन्ने हो तर साल्ट ट्रेडिङ्गले डेलिभरी गर्न नसक्ने भयो, त्यसैले साथीहरुविच सहमति जुटेको छैन’ उनले भने ‘पहिला डेलिभरी दिने भन्यो, अहिले आफै गर्ने भनेपछि सकिएन ।’ उनले आफूहरुले चिनी लगायतको सामान नाफा नै नखाई विक्री गर्नुपर्ने अवस्था आएकोले सरकारको सामान बेच्न नसकेको बताए ।
बज्राचार्यले सरकारी काम ढिला हुने भएकोले अहिलेसम्म सामान दिन नसकेको पनि आरोप लगाए । ‘लिन्छौँ भन्ने साथीहरुलाई पनि सामान नै सप्लाई गर्न सकेका छैनन । कहिले के नमिल्ने कहिले के नमिल्ने यस्तो छ’ उनले भने ‘पाँच हजार बोरा चिनी दिने भनेको छ । तर हामीले पाएका छैनाँै ।’
तर साल्ट ट्रेडिङ्गले भने सामान लिन आउनेहरुलाई उपलब्ध गराईएको बताएको छ । साल्टका विभागिय प्रवन्धक ब्रजेश झाले कालिमाटी र कोटेश्वरबाट सामान उपलब्ध गराईएको बताए । ‘उनीहरुकै साथीहरु आएर उठाएर गैरहेका छन् । हामीले कोटेश्वर र कालिमाटी दुई ठाउँबाट दिईरहेका छौँ ’, उनले भने ‘पाएनौँ भन्नु त ठगी गर्ने धन्दा होला ।’ झाले मन्त्रालयले तोकेको दरमा चिनी, दाल, तेल लगायतका सामान छुटमा व्यापारीलाई उपलब्ध गराईएको बताए ।
आपूर्ति मन्त्रालयका सह सचिव उत्तम प्रसाद नागिलाले १ हजार आउटलेट छ भनेर उनीहरुले नै प्रस्ताव राखेको र छलफलमा रहेको जानकारी आएको बताए । ‘उहाँले मिलाउँदै हुनुहुन्छ भन्ने जानकारी आएको छ’ उनले भने ।
आफैले बेच्ने भनेको सस्तो सामानको पनि निर्णय भएन
संघले सरकार संगको सहमतिमा चाडवाडलाई लक्षित गरी आफैले पनि केही सामान सस्तोमा बेच्ने प्रतिवद्धता जनाएको थियो । तर त्यसको विषयमा पनि कुनै टुंगो नलागेको बज्राचार्यले बताए । ‘त्यो विषयमा पनि हामी साथीहरु संग छलफल गर्दै छौँ’ बज्राचार्यले भने ‘केही समयमा टुंग्याउँछौँ ।’
तरकारी व्यापारीसंग पनि अधुरो छलफल
आपूर्ति मन्त्रालयले तरकारी व्यवासायीसंग पनि सस्तोमा तरकारी विक्री गर्न प्रस्ताव गरेको छ । शुक्रबार मन्त्रालयमा बोलाईएको छलफलमा दँशै, तिहार र छठको लागि सहयोग गरीदिनुप¥यो भनेर प्रस्ताव राखेको मन्त्रालयका सह सचिव उत्तम प्रसाद नागीलाले बताए । ‘दँशै तिहार छठको लागि सहयोग गरीदिनुप¥यो भनेर प्रस्ताव गरेका हौँ’ उनले भने ‘११ ठाउँमा सुपथ मूल्यका डिपो संगै तपाईँपनि स्टल राखिदिनुस भनेको उहाँहरु सकारात्मक सकारात्मक हुनुहुन्छ ।’
सस्तो भनेको झन महंगो
केही व्यापारीक प्रतिष्ठान र सुपरमार्केटहरुले पनि चाडबाडमा सस्तोमा बेच्ने भनेर सरकारसंग सहमति गरेका थिए । तर झन महंगोमा सामान बेचेको गुनासो उपभोक्ताले गरको छन् । आपूर्ति मन्त्रालयको सस्तो पसलको बोर्ड लगाएर भाडभटेनी सुपरमार्केटले महंगोमा सामान बेचेको आरोप आपूर्ति मन्त्रालयसम्म पुगको छ । सरकारको सुपथ मुल्य पसलमा प्रति केजी ७९ रुपैयाँमा विक्री भएको चिनी बजारका अन्य स्थानमा ८५ रुपैयाँमा विक्री भएको छ । तर भाटभटेनीले भने ८७ रुपैयाँमा बेचिरहेको छ । पसलहरुमा २ सय ५ प्रति केजीमा बिक्री भइरहेको मुगको दाल भाटभटेनीले २ सय ४८ रुपैयाँमा बेचेको फेला परेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij