प्रकाशित मिति : शुक्रबार, अशोज ७, २०७३
काठमाडौँ । भाषाविद्हरुले नेपाली भाषा र वर्णविन्यासमा सुधार गर्दा राष्ट्रियस्तरमा छलफल गरेर मात्र निष्कर्षमा पुग्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘निर्विवाद नेपाली वर्णविन्यास तथा देवनागरी लिपि किन विवादित तथ्य र वास्तविकता’ विषयको कार्यक्रममा उनीहरुले ‘शहीद’लाई हेपेर सहिद तथा झण्डालाई हेपेर ‘झन्डा’ बनाइएकामा आपत्ति प्रकट गर्दै कर्णेल, राणा र शाह भने ठीकै गरेको देखिए पनि राईलाई ‘राई’ नै राखेर लिम्बूलाई होच्याएर ‘लिम्बु’ बनाएको विचार प्रकट गरे ।
कार्यक्रममा भाषाविद् शरच्चन्द्र वस्तीले नेपाली भाषामा सुधार गर्नुअघि विभिन्न विद्वान्सँग छलफल गर्ने तथा त्यसबाट आउने प्रतिक्रियामाथि राष्ट्रियस्तरमा बहस गर्नुपर्ने विचार प्रकट गरे ।
भाषाविद् चूडामणि गौतमले भाषाको समृद्धिका लागि अन्य भाषाबाट पनि जस्ताको तस्तै शब्द प्रयोग गर्ने प्रचलन रहेको बताए । शिक्षाविद् विद्यानाथ कोइरालाले नेपाली भाषामा रहेका जटिलतालाई सरलतामा ल्याउन अप्ठ्यारा फुकाउनु आवश्यक रहेकामा जोड दिए ।
पत्रकार एवम् साहित्यकार हरि अधिकारीले नेपाली भाषामा सुधार ल्याउने राम्रो मनशायले सो कदम चालिएको भए पनि भाषामा चलाउनै नहुने क्षेत्रमा अनधिकृत रुपमा हस्तक्षेप गरेकामा असन्तोष प्रकट गरे ।
नेपाली भाषा बचाऊ अभियानका संयोजक डा बलदेव शर्मा अधिकारीले एउटै सरकारी मन्त्रालयभित्र रहेका विभिन्न निकायबीच फरक फरक शैलीपुस्तिका र वर्णविन्यास रहेको बताउँदै प्रज्ञा–प्रतिष्ठानले सुरु गरेको सुधार कार्यक्रम नेपाली भाषामाथि आस्था राख्नेमाथिको प्रहार भएको विचार प्रकट गरे ।
नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले नेपालमा भाषासम्बन्धी सुधार गर्ने कार्य गरेपछि त्यसका लागि पर्याप्त छलफल गर्नुपर्ने भएकाले कानुन व्यवसायीले छलफल तथा बहसको प्रक्रिया अगाडि सारेको जानकारी दिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij