प्रकाशित मिति : सोमवार, अशोज १०, २०७३
पोखरा । पोखराको फिस्टेल एकेडेमीका संस्थापक चिनु रानाभाट र प्रकाश घिमिरे सानैदेखिको मिल्ने साथी थिए । प्रकाशसँगको आत्मियताले दाजु पूर्व गृहमन्त्री तथा मूख्यसचिव माधब घिमिरेसँग पनि उनको राम्रै सम्बन्ध थियो ।
प्रकाश सँगै स्कुल पढेका रानाभाट र घिमिरे परिवारबीचमा राम्रै सम्बन्ध थियो । तर रानाभाट आईतबार साझ छाँगाबाट खसेजस्तो भए जव उनले आफ्नो झण्डै २० बर्ष पुरानो साथी गुमाएको खबर सुने । घिमिरे परिवार चढेको बा ९ च १५३१ नम्बरको गाडी त्रिसुलीमा खस्दा उनको आमा, एक अाफन्त र दार्इकाे सुरक्षा गार्डले ज्यान गुमाए । गाडी चालक भने हामफालेर बच्न सफल भए । तर पू्र्व गृहमन्त्री घिमिरे, उनका दुई भाई प्रकाश र मोहन अझै वेपत्ता छन् । यो खबरले रानाभाट परिवार पनि शोकमा डुबेको छ ।
‘विहान सँगै खाना खाएर छुटेको साथी अन्तिम पटक आबु खैरेनीबाट फोन गरेको थियो तर एकछिन पछि यस्तो खबर सुन्न पर्यो’ शोकमग्न अबस्थामा रानाभाटले रातोपाटीलाई भने । प्रकाशले दिउसो झण्डै साढे ३ बजे रानाभाटलाई फोन गरी आबु खैरेनी पुगेको र चियाँ खान लागेको जानकारी गराएका थिए । ‘अब काठमाण्डौं पुगेर फोन गर्छु भनेको थियो तर कहिल्यै नफर्किने बाटो गयो ’ रानाभाटले भने ।
तीन दिन पहिले काठमाडौंबाट सोह्रश्राद्धको लागि मुक्तिनाथ जान निस्केका घिमिरे परिवार शनिवार राती झण्डै ११ बजे मुक्तिनाथबाट पोखराको लेकसाईड स्थित एक होटलमा आएर बसेका थिए । विहान सँगै खाना खाने योजना अनुसार रानाभाट र घिमिरे सहित ७ जनाको टोली ड्यामसाईड स्थित मोनालिसा होटलमा पुगेको थियो । उनीहरु सँगै बसेर खाना खाए र विहान झण्डै साढे ११ बजे निस्किएका थिए ।
प्रकाशको आत्मिय साथी भएकाले माधव घिमिरेलाई रानाभाटले दाजु भन्थे र सोहि अनुसार सम्मान गर्थे । घिमिरेले पनि उनलाई ज्यादै माया गर्थे । ‘ दाईले प्रकाशलाई भन्दा पनि बढी माया मलाई गर्नुहुन्थ्यो ’ सम्झदै रानाभाटले भने ।
रानाभाटको साथमा बसेर उनका साथी प्रकाश , दाजु माधव घिमिरे, भाई मोहन, आमा चैतन्यकुमारी काका नारायण प्रसाद काफ्ले, अंगरक्षक प्रहरी नायव निरिक्षक रामचन्द्र कार्की र चालक प्रहरी हवल्दार बिष्णु राईले सँगै खाना खाएका थिए । पोखराबाट जाने बेलामा गाडी विष्णुलेनै चलाएका थिए ।
चितवन प्रहरीलाई उदृत गर्दै समाचार माध्ययमले जनाएअनुसार तनहुँ सदुमुकाम दमौलीबाट घिमिरे आफैले गाडी चलाएका थिए । काठमाडौंबाट मुक्तिनाथ सम्म र पुनः त्यहाबाट पोखरा हुदै दमौलीसम्म गाडी हाकेका चालक राई थाकेको भन्दै घिमिरे आफै गाडी चलाउन थाले । केवुलकार सम्म आफुले गाडी चलाउने बताएका घिमिरे केवुलकार नपुग्दै त्रिसुलीमा खसे ।
दमौलीमा केहीबेर रोकिएपछि घिमिरेले चालक राईलाई भनेका थिए ‘तिमी थाकेका छौ, केबलकारसम्म म चलाउँछु, अनि तिमी चलाउनू ।’ तर, केबलकार अर्थात कुरिनटार नपुग्दै गाडी त्रिशुलीमा खस्यो ।
‘प्रकाश एकदम मिल्ने साथी थियो, सँगै पढेको एउटै घरको दाजुभाई जस्तो थियौ, ’ रानाभाटले भने ‘दाजुले झन् धेरै माया गर्नुहुन्थ्यो यो खबरले हामीलाई स्तब्ध बनाएको छ ।’ प्रकाशको छोरा पनि रानाभाटकै स्कुलमा पढेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij