प्रकाशित मिति : सोमवार, अशोज १०, २०७३
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘सोसल साइन्स बहाः’ नामक गैरसरकारी संस्थामा भएको करोडौँ रुपैयाँ अनियमितताको खुलासा गरेको छ ।
सोसल साइन्स बहाः र सोही संस्थासँग आबद्ध ‘एलायन्स फर सोसल डाइलग’ भन्ने संस्था दर्ता नै नभई दर्ता भएको संस्थासरह कार्य गरिरहेको सम्बन्धमा आयोगले छानबिन गर्दा समाजकल्याण परिषद्ले सम्पूर्ण कागजपत्र समेत उपलब्ध गराउन नसकेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
प्रारम्भिक छलफलमा ‘सोसल साइन्स बहाः’ नामक संस्था विसं २०६३ माघ १ गते जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता भएको देखिएको छ भने सो संस्थामा निर्मलमान तुलाधर अध्यक्ष, वसन्त थापा उपाध्यक्ष, डा सुधीन्द्र शर्मा महासचिव, मोहन मैनाली कोषाध्यक्ष, निर्मल ज्ञवाली सदस्य र कनक दीक्षित सदस्य रहेको जनाइएको छ ।
त्यस्तै, सोही संस्थासँग आबद्ध ‘एलाइन्स फर सोसल डाइलग’ नामक संस्था दर्ता नै नगरी संस्थासरह सञ्चालन गरेको तथा दर्ता नभएको उक्त संस्थालाई सोसल साइन्स बहाले ठूलो मात्रामा रकमसमेत दिएको खुलासा भएको छ ।
‘एलाइन्स फर सोसल डाइलग’मा कार्यकारी समितिको अध्यक्षमा सुशीलराज प्याकुरेल र सदस्यमा अमुदा श्रेष्ठ, विमला राई पौडेल, हीरालाल विश्वकर्मा, मुक्तासिंह लामा, शशि अधिकारी, सुरेन्द्रलाभ कर्ण रहेको तथा संस्थामा निर्देशक हरि शर्मा सहितका अन्य कर्मचारीसमेत रहेको जनाइएको छ ।
समाजकल्याण परिषद्बाट प्राप्त प्रतिवेदन सम्बन्धित कागजात हेर्दा ती संस्थाले विभिन्न २२ वटा दातृ संस्थाबाट स्थापनाकालदेखि हालसम्म रु ४७ करोड ९१ लाखभन्दा बढी रकम प्राप्त गरेको लेखा परीक्षण प्रतिवेदन समेतबाट देखिएको छ ।
“यसरी विदेशी दातृ निकायबाट प्राप्त रकममध्ये विगत करिब पाँच वर्षमा एलाइन्स फर सोसल डाइलग र सोसल साइन्स बहाःले रु २९ करोड २० लाख रकम खर्च गरेको र सोमध्ये एलाइन्स फर सोसल डाइलगले मात्र रु १३ करोडभन्दा बढी रकम खर्च गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको हुँदा माथि उल्लेखित पाँच वर्षलगायत अन्य वर्षमा उपरोक्त गैरसरकारी संस्थाले खर्च गरेको रकमका विषयमा समेत छानबिन गर्नुपर्ने देखिन्छ”– विज्ञप्तिमा उल्लेख छ ।
एलाइन्स फर सोसल डाइलगका निर्देशक हरि शर्माले मासिकरुपमा उक्त संस्थाबाट रु चार लाख ६८ हजार ६०० तलब भत्ता र सोसल साइन्स बहाःका डाइरेक्टरले रु एक लाख ५४ हजार ५०० भन्दा बढी मासिक तलव बुझेको तथ्याङ्क छ ।
त्यस्तै, बोर्डबैठक भत्ता भनी सुशीलराज प्याकुरेललगायत अन्य सदस्यले प्रतिबैठक प्रतिव्यक्ति रु ३१ हजार ८३९ का दरले भुक्तानी लिएको र गैरनाफामूलक गैरसरकारी संस्थाबाट नाफामूलक संस्थाझैँ गरी बोनससमेत लिएको देखिन्छ ।
विभिन्न दातृसंस्थाबाट सहयोगस्वरुप ल्याइएको रकम संस्थामा प्रभुत्व रहेका सीमित व्यक्तिको स्वार्थ र हितमा केन्द्रित रही अनुत्पादकरुपमा तलव भत्ता, विदेश तथा स्वदेश भ्रमण, होटल, पिकनिक, मदिरा सेवन लगायतमा खर्च गरेको देखिएको उल्लेख छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij