प्रकाशित मिति : सोमवार, अशोज १०, २०७३
भक्तपुर । भक्तपुर जिल्लालाई नेपालकै पहिलो योग जिल्ला घोषणा गरिएको छ । योग तथा ध्यानका माध्यमबाट शारीरिक स्वास्थ्य तथा अध्यात्मिक भावना जागृत गर्ने उद्देश्यले आज वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले भक्तपुरलाई नेपालकै पहिलो योग जिल्ला घोषणा गरेका हुन् ।
योग जिल्ला समन्वय समितिले आयोजना गरेको घोषणासभामा मन्त्री भण्डारीले मानव जीवन र स्वास्थ्यसँग जोडिएको योगलाई मानवका दैनिक गतिविधिसँग जोड्नुपर्ने बताउनुभयो । योगको क्षेत्रमा कार्यरत पतञ्जली योग समिति भक्तपुर, मनोक्रान्ति योग साधना केन्द्र, ब्रह्मकुमारी राजयोग केन्द्र, ओशो ध्यान केन्द्र भक्तपुर, चरित्र निर्माण सङ्घ, शिवयोग साधना केन्द्र, मङ्गल योग तथा प्राकृतिक चिकित्सा उपचार केन्द्र, बाराही योग तथा प्राकृतिक चिकित्सालय, यशोधरा योग साधना केन्द्रको समन्वयमा योग जिल्ला घोषणा गरिएको हो ।
घोषणासभामा पूर्वमन्त्री महेश बस्नेत, देवीप्रसाद ओझा, पूर्वसहायकमन्त्री हरिशङ्कर परियार, सांसद केदार सञ्जेल, प्रजिअ तेजप्रसाद पौडेल, स्थानीय विकास अधिकारी धु्रवप्रसाद कोइराला, प्रहरीप्रमुख किरण बज्राचार्य र नेपाली काँग्रेसका जिल्ला प्रतिनिधिको सहभागिता थियो ।
भक्तपुरको कुल जनसङ्ख्यामध्ये १० देखि ७० वर्ष उमेर समूहको ५१ प्रतिशतभन्दा बढी जनसङ्ख्या योगसँग प्रचलित योगमध्ये कुनै न कुनै प्रकारको योगका बारेमा जानकारी भएको, योगाभ्यास एवम् ध्यान साधना गर्ने, नगरपालिकाको प्रत्येक वडामा एक केन्द्र विस्तारलगायतका मापदण्ड पूरा गरी जिल्लालाई योग जिल्ला घोषणा गरिएको समन्वय समितिका अध्यक्ष बालमुकुन्द सुवालले बताए । हाल भक्तपुरमा एक सय ५७ योग तथा साधना केन्द्र भएको जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij