प्रकाशित मिति : मङ्लबार, अशोज ११, २०७३
उत्तरी धादिङको मार्पाकमा आज बा ३ ख ३३१८ बस दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै ज्यान गयो । अरु ७ जना गम्भीर घाइते रहेका छन् । घटनास्थलमा अहिले सयौंको संख्यामा स्थानीयबासीको भीड लागेको छ । बस दुर्घटना भएको स्थलबाटै स्थानीयबासी लुमडी प्रसाद सिम्खडाले घटनाको बेलिबिस्तार यसरी लगाएः
जिल्ला सदरमुकाम धादिङबेसीबाट किन्ताङफेदीसम्म बस र साना जीपहरु चल्ने गर्छन् । कच्ची र निकै अप्ठ्यारो बाटो भएकाले वर्षाको समयमा यो बाटो त्यति चालूमा रहँदैन ।
दशैं नजिकिँदै गरेको अवस्थामा डोजर लगाएर बाटो सफा गरि एक साता अघि देखि मात्रै यहाँ बस चल्न थालेको हो ।
आज बस खसेको ठाउँ लपाङ खोलामा हो । आँखु खोला पार गर्नेवित्तिकै सुरु हुने मार्पाक गाउँ विकास समितिको वडा नम्बर ५ मा पर्छ दुर्घटना स्थल ।
बस खसेको ठाउँमा गएराती पहिरो गएको थियो भने सोहि पहिरोका कारण बाटो अबरुद्ध हुन पुगेको थियो । दशैंमा टाढाटाढाबाट घर फर्कनेहरुको चाप हुने भएकाले रातारात पहिरो हटाउन काम भयो ।
तर, दुर्भाग्य, बस त्यही पहिरो पार गर्नै लाग्दा आज बिहान साढे ११ बजेतिर बस सडकबाट झण्डै ३ सय मिटरजति तल खोलामा खस्न पुगेको छ । सायद पहिरो हटाइएपनि माटो राम्ररी बसेको रहेनछ । बसको पछाडीको पाङ्ग्रा रहेको ठाउँ भासिएर खसेको कुरा छ ।
घटनास्थलमा अहिले रुवाबासी छ । गाउँलेको ठूलो भीड लागेको छ । प्रहरीले १४ जनाको शब फेला पारेको छ भने घाइतेहरुलाई हेलिकप्टरमा राखेर काठमाडौंतर्फ लगिएको छ ।
मैले सुनेअनुसार बसमा धेरैजसो सदरमुकाम धादिङबेसीमा दशैंको लागि आवश्यक सामग्रीको जोहो गर्न पुगेकाहरु घर फर्किएका थिए । कोहि पेन्सन बुझ्न पनि गएका थिए । मृतकहरु धेरै किन्ताङफेदी र सोहि आसपासका हुन् । दशैंको मुखमा गाउँमा यत्रो ठूलो दुर्घटना भयो गाउँ शोकमा डुबेको छ ।
दुर्घटनामा परेको बस खोलामा बज्रिएर क्षतविक्षत भएको छ । यो बाटोमा त्यति धेरै बसहरु नचल्ने भएकाले निकै खचाखत यात्रु हुने गर्छन् । आज दुर्घटनामा भएको बसमा पनि भित्र र छतमा समेत टनाटन यात्रु रहेको सुन्नमा आएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij