प्रकाशित मिति : बिहिबार, अशोज १३, २०७३
भोजपुर । सरकारी कार्यालयमा रहेका सूचना ग्रामीण क्षेत्रका साथै आम नागरिकको पहुँचमा पु¥याउन भोजपुरका क्रियाशील पत्रकारले प्रतिबद्धता जनाएका छन् ।
विश्वव्यापी सूचनामा पहुँचको अन्तर्राष्ट्रिय दिवसका अवसरमा बुधबार गरिएको कार्यक्रममा भोजपुरका अग्रज पत्रकार निरोज कोइरालाले नेपालमा सूचनाको हकको व्यवस्था गरिएको भए पनि त्यसका विषयमा अहिले पनि तल्लो स्तरसम्म सन्देश पुग्न नसकेको बताउँदै सबै पत्रकारले सूचनामा पहुँच पु¥याउन भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
सोही क्रममा सूचनाको हकका अभियन्ता नोदनाथ त्रितालले सूचनाको हकको विषयमा अझै पनि धैरेलाई बुझाउन बाँकी रहेको बताउँदै जिल्लामा रहेका सरकारी कार्यालयसँग सूचना माग गर्ने अभियान पछिल्लो समयमा आएर बढेको बताए । सो अवसरमा राससका भोजपुर संवाददाता सरिता राईले पत्रकार सक्रिय बनेमा सूचनाको पहुँचमा वृद्धि गर्न सकिने बताए ।
त्यस्तै, चोमोलुङ्गमा भोजपुरका समाचार प्रमुख राजन राईले सूचनाको हक कार्यान्वयनका विषयमा आफूले र रेडियोले समेत सहयोग गर्ने बताए । कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारको सहभागिता थियो ।
जिल्लामा रहेका विभिन्न ६ वटा सरकारी कार्यालयमा पत्रकारले एकैसाथ सूचना माग गरेका छन् । जिल्लामा रहेको नेपाल खाद्य संस्थानमा पत्रकार निरोज कोइराला र सूचना अभियन्ता नोदनाथ त्रिताल, घरेलु तथा साना उद्योग विकास समितिमा पत्रकार राजन राई, जिल्ला भूसंरक्षण कार्यालयमा पत्रकार सरिता राई, जिल्ला हुलाक कार्यालयमा मनिता खिम्दुङ्ग, आर्युर्वेद स्वास्थ्य केन्द्रमा बिवेक राई र जिल्ला प्रशासन कार्यालयमा फवीन्द्र प्रधानले एकैसाथ बुधबार नै सूचना माग गरेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij