प्रकाशित मिति : बिहिबार, अशोज १३, २०७३
काठमाडौं । शनिबारदेखि भक्तपुरमा हुन थालेको नेपाली युवाको ‘प्रथम अन्तर्राष्ट्रिय सम्मेलन’को तयारी पूरा भएको छ ।
युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् आयोजना र गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० को आयोजनामा हुन थालेको दुईदिने सम्मेलनमा राजनीतिक दल, सामाजिक सङ्घसंस्था र युवासँग सरोकार राख्ने ३०० युवाको सहभागिता हुने परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले जानकारी गराए ।
यसैगरी क्यानडा, बेल्जियम, अस्ट्रेलिया र युरोप महादेश, एसियाका जापान र खाडी मुलुकमा रहेका ५० गैरआवासीय नेपाली पनि ‘युवामा सामाजिक उद्यमशीलताको विकास, सामाजिक उद्यमशीलता नै देश निर्माणको आधार’ भन्ने मूल नाराका साथ हुने सम्मेलनमा सहभागिताका लागि काठमाडौँ आइसकेका छन् ।
“सम्मेलनमा स्वदेश र विदेशमा भएका युवालाई नेपालको अवसर, सम्भावना र चुनौती बारेमा विश्लेषण गर्दै नेपालको साझा समस्याका समाधान खोज्ने प्रयास गर्छौं, उनले भने, “बिदेसिएका युवालाई नेपालमा रहेका स्रोतसाधन उपयोग गरी स्वरोजगार बनाउन सकिने विषयमा बहस गर्नेछौँ ।” युवालाई स्वदेशमा नै उद्यमशील बनाई रोजगारीमा वृद्धि गर्ने उद्देश्यका साथ हुने सम्मेलनमा युवा रोजगारी, उद्यमशीलता, कृषि, युवा नेतृत्व विकाससम्बन्धी छ कार्यपत्र प्रस्तुत हुनेछन् ।
पत्रकार सम्मेलनमा एनआरएनएका महासचिव डा बद्री केसीले विदेशमा सिकेको सीप नेपालमा प्रयोगमा ल्याउनका लागि सम्मेलन सहयोगी भूमिका खेल्ने बताए । “कतारमा अग्ला अग्ला घर बनाउने र इजरायलयमा जमिन खन्ने नेपाली यहाँ पनि अवसर पाए काम गर्न सक्छन्”– उनले भने, “ती बिदेसिएका युवालाई नेपालमा फर्काउन सके त्यहाँको सीप प्रयोग गर्न सक्छन् र देश विकासमा सहयोगी भूमिका हुन्छ ।”
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij