प्रकाशित मिति : शुक्रबार, अशोज १४, २०७३
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रेस सेन्टर नेपालका पत्रकारहरुलाई सेनाले जस्तै गरी आदेश पालना गर्न निर्देशन दिएका छन् ।
राजधानीमा जारी प्रेस सेन्टर नेपालको एकताको पहिलो महाधिवेशनको बन्दसत्रमा संवोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिलेकै सरकारले ३ वटा निर्वाचन गर्ने भएको हुँदा सबै चुनावमा पार्टीलाई जिताउन पार्टीको आदेशपालकको भूमिका निर्वाह गर्न आग्रह गरेका हुन् ।
अघिल्लो संविधान सभाको निर्वाचन कांग्रेसको नेतृत्वमा हुँदा पनि कांग्रेसले हारेको प्रसंग सुनाउदैं प्रचण्डले अगामी चुनावमा पनि माओबादीले हार्ने सम्भावना भएकोले अहिलेदेखि नै शिक्षा लिएर अघि बढ्नुपर्ने बताए ।
प्रेस सेन्टरका सबै पत्रकारले एउटै यूनिफर्म लगाएको देख्दा आफूलाई जनमुक्ति सेनाको झल्को लागेको बताँउदै उनले आगामी निर्वाचनमा माओबादीलाई जिताउन सेनाको भूमिका निर्वाह गर्न पत्रकारहरुलाई आग्रह गरे ।
प्रधानमन्त्री प्रचण्डले ठूला मिडियाले सरकारले गरेको राम्रा कामलाई उपेक्षा गरेको गुनासो गरे । ठूला मिडियाले राम्रा काममा पनि भ्रम फैलाउने गरेको भन्दै उनले भने–“हामीले गरेका राम्रा कुरालाई ठूला मिडयाले स्थान देलान भन्ने भन्ने हाम्रो आशा असफल भयो, उनीहरु एउटा बर्गको कब्जामा छन्, अब साना मिडियाहरुले उनीहरुले छरेको भ्रम चिर्न आवश्यक छ ।”
प्रेस सेन्टरलाई चुस्त दुरुस्त बनाएर अगाडि लैजान भन्दै उनले हिजो माओबादीभित्र त्याग, तपस्या गर्न प्रतिष्पर्धा हुने गरेकोमा अहिले पद, प्रतिष्ठा र ब्यक्तिगत स्वार्थ हावी भएको बताए ।
साथै उनले संचार मन्त्रालय माओबादीको हातमा भएको बेला प्रेस सेन्टरमा स्थापित पत्रकारहरुलाई सरकारी मिडियामा सेट गर्न लागेको समेत बताए । उनले अर्को एक पार्टीसँग पनि निकट भविष्यमा एकता गर्न लागेको बताँउदै एकतापछि पनि संगठनलाई सुदृढ बनाएर अघि बढ्न सुझाव दिए ।
काठमाडौको बबरमहलस्थित एक पार्टी प्यालेसमा भइरहेको प्रेस सेन्टर नेपालको महाधिवेशनमा शुक्रबार निर्वाचन प्रक्रिया शूरु हुँदैछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij