आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

त्रिपुरेश्वर–नागढुङ्गा सडक विस्तार : आधा समय सकियो, २० प्रतिशत मात्रै काम

  • प्रकाशित मिति : बिहिबार, कार्तिक ११, २०७३



  • काठमाडौँ । काठमाडौँलाई जोड्ने मुख्य नाकाको रूपमा रहेको राजधानीको त्रिपुरेश्वरदेखि नागढुङ्गासम्मकोे सडक विस्तारको आधा समय सकिँदा निर्माण भने २० प्रतिशत मात्रै पूरा भएको छ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका इन्जिनियर शैलेन्द्र शर्माले विभिन्न कानुनी अडचन, स्थानीय नागरिकको अवरोध र राजनीतिक हस्तक्षेपका कारण सडकखण्ड विस्तारमा ढिलाइ भएको बताउनुभयो ।

    अदालत, माथिल्लो निकाय र राज्य स्तरबाट विकासमैत्री निर्णय तथा आदेश नभएमा निर्धारित समयमा आयोजनाको काम पूरा हुन नसक्ने उहाँले स्पष्ट पार्नुभयो । काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले अदालत, स्थानीय र ठाडो राजनीतिक हस्तक्षेपका कारण आयोजनाको कामले गति लिन नसकेको बताउनुभयो ।

    उहाँले विभिन्न अवरोधकै कारण विस्तार कार्य पूरा गर्ने आधाभन्दा बढी समय बितिसक्दा पनि अहिलेसम्म २० प्रतिशत मात्र काम भएको जानकारी दिनुभयो । ३० महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित २०७२ साउन १ गतेदेखि यो सडकखण्ड विस्तार सुरु गरिएको थियो । सर्वोच्च अदालतले चैत २६ गते सडक विस्तार र निर्माणको नाममा राज्यले व्यक्तिको सम्पत्तिमाथि जबरजस्ती गर्न नमिल्ने निर्णय दिएको थियो । अदालतले अन्तरिम आदेशमार्फत आइन्दा यस्तो कार्य नगर्नसमेत सरकारलाई सचेत गराएको थियो ।

    सर्वोच्चले विकास निर्माण र सडक विस्तारका लागि ११ बुँदे मापदण्डसमेत तोकिदिएको थियो । त्यसैगरी, व्यवस्थापिका संसद्अन्तर्गत विकास समितिले समेत स्थानीय सरोकारवालाहरूको समस्या सुल्झाएर मात्र त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा सडक विस्तार गर्न भौतिक पूर्वाधार तथा यतायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको थियो ।

    विष्णुमति पुलदेखि सोल्टीमोडसम्म, सतुङ्गल र बलम्बुमा घर टहरा नभत्काउन सर्वोच्च अदालतको ‘स्टे–अर्डर’ जारी भएको र अदालतको अर्को आदेश नभएसम्म सो ठाउँमा काम अगाडि बढाउन नसक्ने आयोजनाका इन्जिनियर शर्माले बताउनुभयो । विष्णुमति पुलदेखि सोल्टीमोडसम्मको सडकखण्डमा चार पटक घर भत्काउने प्रयास गरिए पनि विभिन्न खाले अवरोधका कारण सफल हुन नसकेको उहाँले दुःखेसो पोख्नुभयो ।

    जग्गाधनीको प्रमाणपत्र जग्गाधनीकै हातमा रहुन्जेल राज्यले सो जग्गालाई भत्काई वा त्यसको स्वरूप बिगारी सडक विस्तार गर्न नसक्ने धारणा स्थानीयवासीको छ भने त्रिभुवन राजपथ निर्माणको समयमै राज्यले मुआब्जा दिएर दायाँबायाँ ८/८ मिटर जग्गा अधिग्रहण गरी सो राजपथको चौडाइ २५ मिटर कायम गरिएको दाबी आयोजनाको छ ।

    आयोजनाका अनुसार, भारतीय सिमाना रक्सौलदेखि त्रिपुरेश्वरसम्म रहेको त्रिभुवन राजपथको सीमा दायाँबायाँ २५/२५ मिटर रहेको र अहिले त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा सडकखण्डमा त्यसै मापदण्डअनुसार सडक विस्तारको कार्य भइरहेको छ ।

    आर्थिक वर्ष २०२१/२२ सालको बजेट भाषणमै राजमार्गको चौडाइ दायाँबायाँ २५ मिटर कायम गरिएको थियो । विस्तार भइरहेको सडकखण्डको केन्द्रदेखि दायाँबायाँ २५ मिटरभित्रमा परेका जग्गाको मुआब्जा सरकारले दिन नसक्ने व्यवस्था सडक ऐन, २०३४ मै गरिएको छ ।

    चार खण्डमा विस्तार कार्य भइरहेको छ । पहिलो खण्डअन्तर्गत त्रिपुरेश्वरदेखि कलङ्कीसम्मको सडक विस्तारको जिम्मेवारी बज्र–विरुवा–सीएम (जेभी) ले पाएको छ । ३ दशमलव ३४ किलोमिटर लम्बाइ भएको यस सडकखण्डको विस्तार लागत २९ करोड २९ लाख रुपियाँ छ भने निर्माण अवधि २८ महिना छ ।

    त्यसैगरी, दोस्रो खण्डमा कलङ्कीदेखि नैकाप ओरालोसम्म तीन किलोमिटर सडक विस्तार गरिने जानकारी दिँदै उहाँले यस खण्डको विस्तारको जिम्मेवारी शर्मा–शैलुङ–कान्छाराम (जेभी) ले पाएको बताउनुभयो । यस खण्डको विस्तार लागत ३१ करोड ४५ लाख रुपियाँ र निर्माण अवधि २७ महिना छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij