आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राजा नरेन्द्रको सालिक हेर्न अमेरिकाबाट पाटनमा

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १२, २०७३



  • ललितपुर  । हजुरबाले बयान गरेको राजा नरेन्द्र मल्लको सालिक हेर्न भन्दै केही समयपहिले अमेरिकी नागरिक बिल पिफ्रेर्कन पाटन दरबार क्षेत्र आइपुगे ।

    उनका हजुरबा सन् १९६४ मा आउँदा सालिकको फोटो खिचेका रहेछन् । अहिलेसम्म त्यो सुरक्षित छ । सालिकको मात्रै नभई सिङ्गो पाटनका बारेमा हजुरबाबाट सुनेका पिफ्रिर्कन भूकम्पपछिको अवस्था हेर्नकै लागि आएका बताएको पाटन सङ्ग्रहालयका प्रमुख सुरेश लाखेले बताए । अघिल्लो वर्ष पर्यटकीय चहल–पहल सुनसान भए पनि यस वर्ष मौसम सुरु भएसँगै ललितपुरका पर्यटकीय क्षेत्रमा पर्यटकको आगमन बढेको छ । पहिले आइसकेकाहरु सम्पदाको पछिल्लो अवस्था हेर्न र बुझ्न आइरहेका छन् । घुम्न आउन चाहनेका लागि नेपाल सुरक्षित रहेको खबर विभिन्न माध्यमबाट जानकारी पाएपछि इच्छुक पर्यटकहरु आउन थालेको पाटन संग्रहालयले बताएको छ ।

    प्रमुख लाखेले भने, “अघिल्लो वर्ष भूकम्पकै कारण पर्यटकको आगमन ज्यादै कम थियो भने अहिले भूकम्प पनि पर्यटकलाई आकर्षण गर्ने कारण बनेको छ ।” कतिपय पर्यटक भने भूकम्पअघि र पछिको सम्पदाको अवस्थाका विषयमा अध्ययन÷अनुसन्धान गर्ने उद्देश्यले पनि आउने गरेको पाइएको छ ।

    पाटन क्षेत्र आइपुग्ने पर्यटकसँग दरबार क्षेत्रमा ललितपुर उपमहानगरपालिका र पाटन सङ्ग्रहालयमा कार्यालयले नै प्रवेश शुल्क उठाउँदै आएका थिए । गत असोजदेखि दुवै निकायले एकै स्थानबाट शुल्क उठाउने गरी ‘एकद्वार प्रणाली’ सुरु भएको छ । यसले गर्दा पाटन आउने पर्यटकलाई सहज भएको छ । एकद्वार प्रणालीको सुरु भएको पहिलो महिना असोजमा मात्रै एक करोड पाँच लाख रुपैयाँ रकम शुल्कबापत उठिसकेको छ । अघिल्लो वर्ष वर्षभरमा जम्मा दुई करोड ७० लाख रुपैयाँ मात्रै उठेको थियो । गत वर्ष उपमहानगरपालिकाले ६ करोडमा बोलपत्र आह्वान गरेको थियो । ठेक्का पर्ने ठेकेदार कम्पनीले ३० लाख धरौटीसमेत बुझाइसकेको थियो । भूकम्पका कारण उसले गर्न आँट नगरेपछि त्यो रकम उपमहानगरपालिकाले जफत गरेको हो ।

    अघिल्लो वर्षभन्दा यो वर्ष पर्यटकको आगमनमा सुधार हुने सङ्केत अहिले नै देखिसकेको उपमहानगरपालिकाका पर्यटन हेर्ने अधिकारी डिल्लीराम शाक्य बताउँछन् । उनले भने, “असोजमा एक करोड बढी रकम सङ्कलन भएको थियो भने कात्तिकमा पनि पर्यटकको आगमन राम्रो छ ।” पर्यटकमा शान्तिसुरक्षामा राम्रो भएको सन्देश पुगिरहेकाले ढुक्क भएर आउन थालेको उनी बताउँछन्। दरबार क्षेत्रमा क्षेत्रमा शौचालय लगायतको सुविधा थप गर्नेमा ध्यान दिइने बताउँदै उनले भने, “हामीले यस क्षेत्रमा सुधारका लागि शुल्कबाट नै रकम छुट्याउने व्यवस्था गरेका छौँ ।”

    विश्वकै बौद्ध धर्मावलम्बीको आकर्षण रहेको हिरण्यवर्ण महाविहार गोल्डेन टेम्पलमा पनि पर्यटकको चहल–पहल बाक्लो हुन थालेको छ । महाविहारमा कार्यरत कर्मचारी पञ्चबज्र बज्रचार्यले भने, “अहिले सिजन सुरु भएपछि एक सयको हाराहारीमा पर्यटक आइरहेका छन् ।”

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij