प्रकाशित मिति : आइतवार, अशोज १६, २०७३
काठमाडौं । अन्तराष्ट्रिय सामजिक संस्था ब्रेथ अफ लाईफले शनिबार राजधानीमा नवजात शिशु स्वास्थ्यसम्बन्धी कार्यशालाको आयोजना सम्पन्न गरेको छ ।
नेपालमा जोखिममा रहेका नवजात शिशुको जीवन रक्षाका लागि ब्रेथ अफ लाईफ संस्थाले ईटालियन संस्था एएनटीसँगको सहकार्यमा विगत दुई वर्षदेखि विभिन्न अस्पतालमा आवश्यक प्रविधि तथा उपकरण हस्तान्तरण तथा जडान, उपकरणको निरीक्षण तथा मर्मतसम्भार गर्ने तथा उपकरण संचालनका लागि चिकित्सक, प्राविधिक तथा स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान गर्ने लगायतका कार्यहरु संचालन गर्दै आएको छ ।
बाल स्वास्थ्य महाशाखा, स्वास्थ्य विभागका डा. राजेन्द्र पन्तको आतिथ्यतामा सम्पन्न कार्यक्रममा एएनटी प्रोजेक्ट डाइरेक्टर कार्लो सियोलन, सहयोगी संस्था एमटीटीएसका प्रमुख कार्यकारी अधिकृत ग्रेगरी डेगर, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका मेडिकल सुपरइन्टेन्डेन्ट डा. श्रीकृष्ण श्रेष्ठ तथा अस्पतालका बालरोग विशेषज्ञ डा. रामचन्द्र बास्तोला, नेपाल बाल विशेषज्ञ समाजका अध्यक्ष डा. विनोदलाल बज्राचार्य, पेरिनेटल सोसाईटी अफ नेपालका अध्यक्ष एमआर बराल, रोटरी क्लब चितवन रत्ननगरका अध्यक्ष तथा वीर अस्पताल नाक, कान तथा घाँटी विशेषज्ञ डा. ढुन्डीराज पौडेललगायत अन्य चिकित्सक, प्राविधिक तथा स्वास्थ्यकर्मीहरुको सहभागिता थियो ।
कार्यक्रममा बोल्दै वक्ताहरुले संस्थाले गरेका कार्यको सराहना गर्दै संचालित कार्यक्रम तथा विभिन्न प्रसुति अस्पतालमा जडित उपकरणले शिशु मृत्युदर तथा संक्रमण कम गर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।
यसैबीच, एएनटी प्रोजेक्ट डाइरेक्टर कार्लो सियोलनले नेपाल सरकार तथा स्थानीय संघसंस्थालार्इ सहयोगको लागि धन्यवाद व्यक्त गरे । त्यस्तै उनले संस्थाले कार्यक्रमलाइ निकट भविष्यमै पाल्पा, स्यांग्जा, लम्जुंग, गोर्खा र रुपन्देही जिल्लामा सुरु गर्ने योजना सार्वनिक गरे ।
यसैगरी ब्रेथ अफ लाईफ, नेपालका लागि निर्देशक कुशल थापाले कार्यक्रमले ९० प्रतिशतसम्म नवजात शिशु स्वास्थ्यसम्बन्धी समस्या घटाउन प्रभावकारी भएको बताउँदै करिब १४ महिनाअघि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पाँच महिना चार दिनमा जन्मिएको ५५८ ग्राम तौलको शिशुलाई ब्रेथ अफ लाईफद्वारा जडित उपकरणमार्फत् सफलतापुर्वक बचाउन सकिएको जानकारी गराए । त्यस्तै सो शिशुको उपचारटोलीको नेतृत्व गरेका बालरोग विशेषज्ञ डा। रामचन्द्र बास्तोलाले ‘खुशी’ नामकी सो बालिका अहिले पूर्णरुपमा स्वस्थ तथा तन्दुरुस्त रहेको बताए । डा. बास्तोलाले जन्मिदै पाँच किलो ७०० ग्राम तौल भएका एक बालकमा देखिएको स्वास्थ्य समस्याको सफलतापूर्वक उपचार गरिएको पनि जानकारी दिए ।
सोही कार्यक्रममा ब्रेथ अफ लाईफले भरतपुर अस्पताल, चितवन, कान्ति बाल अस्पताल, महाराजगंज र परोपकार प्रसूति तथा महिला अस्पताल, थापाथली काठमाडौंलाई नवजात शिशुको जीवन रक्षाका लागि आवश्यक उपकरणहरु हस्तान्तरण गरेको थियो । अस्पतालका अधिकारीहरुले प्रदान गरिएका उपकरणले नवजात शिशु स्वास्थ्यसम्बन्धी समस्या वा नवजात शिशुको मृत्युदरमा कमी ल्याउन सहयोगी हुने बताए ।
सो अवसरमा नवजात शिशु स्वास्थ्यसम्बन्धी कार्यक्रम संचालनमा विशेष सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाई पनि सम्मानित गरिएको थिया । सम्मानित हुनेमा लायन्स क्लब पोखरा, न्युरोड चौतारीका जनसम्पर्क अधिकृत, नरेन्द्र कुमार श्रेष्ठ, पश्चिमान्चल क्षेत्रीय अस्पतालका मेडिकल सुपरइन्टेन्डेनट डा. श्रीकृष्ण श्रेष्ठ, बालरोग विशेषज्ञ डा. रामचन्द्र बास्तोला, नर्सहरु सावित्री तिवारी र सीता गुरुङ थिए । त्यस्तै लायन्स क्लब पोखरा, न्युरोड चौतारीका पूर्वअध्यक्ष अर्जुन गिरी, हिमालयन क्लब पोखरा र कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) लाई सम्मानित गरिएको थियो । उनीहरुलाई एएनटी प्रोजेक्ट डाइरेक्टर सियोलन र सहयोगी संस्था एमटीटीएसका प्रमुख कार्यकारी अधिकृत डेगरले सम्मान पत्र र मायाको चिनो प्रदान गरेका हुन् ।
कार्यक्रममा अन्तराष्ट्रिय सामजिक संस्था ब्रेथ अफ लाईफले गरेका कार्य तथा भावी योजनाका बारेमा स्लाईड प्रस्तुति दिइएको थियो । ब्रेथ अफ लाईफले संसारका २० देशमा, विशेषगरी दक्षिण पूर्वी एशिया तथा दक्षिण एशियामा नवजात शिशु स्वास्थ्यसम्बन्धी कार्यक्रम सफलतापूर्वक संचालन गरिरहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij