प्रकाशित मिति : सोमवार, अशोज १७, २०७३
काठमाडौँ । बझाङ जिल्ला रिलु गाविस–८, रिसिन्डी गाउँमा अवस्थित कालिका मन्दिरमा भदौ २० गते भएको जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी घटनाको ऐनअनुसार मुद्दा चलाउन दलित समुदायले माग गरेका छन् ।
घटनापछि समता फाउन्डेसन र जागरण मिडिया सेन्टरले संयुक्तरूपमा गरेको स्थलगत अनुगमनको यहाँ आज पत्रकार सम्मेलन गरी प्रतिवेदन सार्वजनिक गर्दै दलित समुदायका अधिकारकर्मीले घटनासँग प्रत्यक्ष सरोकार राख्ने सरकारी निकायलाई सजग गराउने र पीडकलाई ज्यान मार्ने उद्योग र जातीय भेदभाव (कसुर र सजाय) ऐनअन्तर्गत मुद्दा चलाउन गर्न माग गरेका हुन् ।
मन्दिरमा देउडा नाचगान गरेर रमाइलो गर्ने क्रममा स्थानीय लालसिंह आग्रीलाई सोही स्थानका गैरदलितले दलित भएर मन्दिर प्रवेश गरेको भन्दै आग्रीमाथि कुटपिट गर्नुका साथै अभद्र व्यवहार गरेका थिए ।
फाउन्डेसनका अध्यक्ष तथा दलित आन्दोलनका अगुवा पदम सुन्दासले जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी घटनालाई सरकारी कर्मचारीले समान्य प्रकृतिको घटना भन्दै गाउँमै मिलापत्र गर्ने गरेको पाइएको छ भन्नुभयो ।
“पीडितलाई अति अमानवीय प्रकृतिको व्यवहार (दिसा खुवाउन खोज्ने) आफ्नै चेलीबेटीमाथि अनैतिक व्यवहार गर्न लगाउन खोज्ने व्यक्ति (पीडक) लाई कडा सजाय दिलाउन विद्यमान कानुनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारसमक्ष सुझाव प्रस्तुत गर्दछौँ” – प्रतिवेदनमा भनिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij