प्रकाशित मिति : मङ्लबार, अशोज १८, २०७३
जाजरकोट । नायकवाडा–९ धुमाकी आइती चलाउने आठ महिने दुधे छोरा अर्काको जिम्मा छाडेर बिहानै घाट डिपोमा चामल लिनका लागि निस्कइन्। करिब चार घन्टा पैदलहिडेर हिँडेर खाद्य डिपोमा पुग्दा नपुग्दै आएको सबै चामल सकियो । एकातिर दुधे छोरा छोड्नुपर्दाको अवस्था, अर्कोतिर चामल नपाउनुको पीडा आइतीलाई पीडा खपिनसक्नुभयो ।
आइती जस्तै नायकवाडाकै वडा ८ ताँसीबाट दसैँका लागि चामल पाउने आशामा घाट डिपोमा आएका पवन विकले पनि एक गेडा चामल पाएनन् । घरमा छ दिनकी सुत्केरी छोडेर आएको बताउने पवन श्रीमतीलाई खुवाउने र दसैँ मनाउने चामल लिन डिपो आएका थिए । न उनकी श्रीमतीले भात खान पाउने अवस्था भयो न त उनको दसैँमा भातले खुसी ल्याउने भयो । हुनेखानेका लागि घरमा महँगो चामल र खसीको व्यवस्था गरिने र तर हुँदा मात्र खानेले भने आँसु पुच्छदै बस्नुपर्ने बाध्यता यहाँका बासिन्दाको छ ।
आइती र पवनभन्दा अघि आएर चामल पाएका स्थानीयवासीले पनि दुई किलोदेखि पाँच किलोसम्म चामल सीमित व्यक्तिले मात्र पाएका थिए । बारेकोटको जनसङ्ख्या करिब १८ हजारको हाराहारीमा छ तर यो जनसङ्ख्यालाई ८१ क्विन्टल चामलले दसैँ र तिहार मनाउनुको विकल्प छैन ।
यो जिल्लाको सबैभन्दा बढी दुर्गम र पिछडिएको क्षेत्र हो । यहाँ नायकवाडा, रोकायगाउँ, रामीडाँडा र सक्ला गाविस छन् । जिल्लाकै सबैभन्दा उत्पादनका हिसाबले कम उत्पादन हुने क्षेत्र पनि यही हो ।
उच्च हिमाली क्षेत्र भएका कारण सहजै खाद्यान्न ढुवानी कार्य पनि सहज छैन । प्रहरीको घेरामा खाद्यान्न वितरण गर्दा पनि एक किलो चामल नपाउनुको पीडा कस्तो होला सहजै अनुमान लगाउन सकिन्छ ।
वर्षायाममा भत्किएको बाटो मर्मत नहुनु र नलगाड जलविद्युत् आयोजनाका लागि पहुँच मार्ग निर्माण भइराखेकाले खाद्यान्न ढुवानी गर्ने बाटोसमेत अवरुद्ध भएको वीरेन्द्र ऐश्वर्य उच्च माविका प्राचार्य गोरखबहादुर सिंह बताउँछन् । उहाँ भन्छन् – “साँच्चिकै बारेकोटलाई राज्यले न्याय गर्ने हो भने हेलिकप्टरबाट खाद्यान्न ढुवानी गर्नुपर्छ” ।
“बारेकोटवासीलाई प्रत्येक वर्ष आउने दसैँ, तिहारजस्ता पर्वले हाँसो अनि खुसी मात्र बोकेर ल्याउँदैन, पीडा पनि सँगै बोकेर ल्याएको हुन्छ ।” रामीडाँडा सिर्पाचौरका हरिबहादुर थापाले बेदना सुनाउँछन्, “सदरमुकामबाट करिब तीन दिनको दूरीमा रहेको यस क्षेत्रमा खच्चडबाट दैनिक उपभोग्य सामग्री ढुवानी गर्नुपर्ने बाध्यता छ । ढुवानी गरेको खाद्यान्न र अन्य दैनिक उपभोग्य सामग्रीभन्दा ढुवानी भाडा बढी तिर्नुपर्ने पीडाले गर्दा यहाँ ल्याइएका वस्तुहरु छोइनसक्नु छ ।”
यहाँका अधिकांश पुरुष भारतमा कमाइका लागि जाने हुँदा घरमा बच्चाबच्ची र महिला मात्र हुने गर्छन् । काम गर्न सक्ने उमेरका सबै युवाले घर छाड्ने चलनले पनि अधिकांश खाद्यान्न वस्तु आयात गर्नुपर्दछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij