प्रकाशित मिति : आइतवार, अशोज २३, २०७३
दाङ । राष्ट्रिय जनमोर्चाका केन्द्रिय उपाध्यक्ष रश्मीराज नेपालीले नेपालको संविधान जारी भएको एक बर्ष पुरा हुँदा पनि लागु हुन नसक्दा राष्ट्रियता ठुलो खतरामा पर्ने बताउनु भएको छ । उहाँले तत्काल संविधान कार्यान्वयन तर्फ ध्यान नदिए अहिले सम्मको सम्पूर्ण गणतन्त्र र संविधान जारी जस्ता एतिहासिक उपलब्धीहरु संस्थागत हुन नसक्ने र राष्ट्रियता कमजोर हुने बताउनु भयो ।
राष्ट्रिय जनमोर्चा दाङ क्षेत्र नम्बर २ ले शनिबार देउखुरीको लालमटिया-८ मसुरियामा आयोजना गरेको चार्ड पर्व भेटघाट तथा शुभकामना आदान-प्रदान कार्यक्रमलाई सम्बोधन गदै नेता नेपालीले संविधानको कार्यान्वयन गर्नका लागि मुख्य दलहरू जिम्मेवार बन्नु पर्ने र आवश्यक जनदबाब सृजना गर्नु पर्ने बताउनु भयो ।
संविधान कार्यान्वयनमा सघियता मुख्य बाधक तत्व बनेकाले सो को खारेजी अपरिहार्य आवश्यकता बनेको छ, उहाँले भन्नु भयो । कार्यक्रमको प्रमुख अतिथी समेत रहनुका नेता नेपालीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्रीसँग संयुक्त रूपमा जारी गरेको संयुक्त विज्ञप्तीमा कतिपय बुँदाहरू नेपालको सार्वभौम सत्ता एवं राष्ट्रिय हित विपरीत सामेल गरिएको बताउँदै यस प्रकारको राष्ट्रिय स्वाभिमान विरुद्धको कार्यको हामी घोर भत्सर्ना गर्दछौँ उहाँले भन्नु भयो ।
नेपालको संविधानलाई सर्वस्वीकार्य बनाउने नाममा भारतीय विस्तारवादले नेपालमाथि गरी रहेको हस्तक्षेप तथा नेपालका शासकहरूको आत्मसमर्पणवादी चरित्रका विरुद्ध एकताबद्ध सङ्घर्षमा उत्रन आम जनता एवं श्रमजीवी वर्गमा आह्वान समेत गर्नु भयो ।
राष्ट्रिय जनमोर्चा दाङ क्षेत्र नम्बर २ का क्षेत्रिय अध्यक्ष केशवराज खनालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिष्ट अतिथी राष्ट्रिय जनमोर्चा पुर्व केन्द्रिय सल्लाहकार सुरेश थापाले सर्वहारा वर्गले आफ्नो सत्ता आफै स्थापना गरेको महान् दिन अक्टोबर क्रान्तिको अवसरमा अक्टोबर क्रान्तिको झण्डालाई उचा राख्न, नेपालका सर्वहारा श्रमजीवी जनताको सत्ता स्थापना गर्ने जिम्मेवारी पुरा गर्ने उद्देश्य सहित सङ्गठनलाई व्यापक एवं शक्तिशाली बनाउनका निम्ति योजना सहित सत–वार्षिकी कार्यक्रमहरू निर्धारण गरिएको बताउनु भयो । सो अवसरमा अन्तरक्रिया, श्रमिकहरूसँग भेटघाट, कोणसभा, सदस्यता वितरण, प्रकाशन, श्रम शिविर, सांस्कृतिक कार्यक्रम, जिल्ला स्तरीय भेला एवं प्रशिक्षण लगायतका कार्यक्रमहरू सम्पन्न गरिने बताउनु भयो ।
राष्ट्रिय जनमोर्चा दाङ क्षेत्र नम्बर २ का क्षेत्रिय उपाध्यक्ष हुकुमबहादुर बस्नेतको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय उपाध्यक्ष हनुमान चौधरी, अखिल नेपाल रक्तिम सांस्कृतिक अभियानका केन्द्रिय महासचिव नारायण योगी, अखिल नेपाल किसान संघका केन्द्रिय सदस्य प्रेमनारायण आचार्य, अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य पूर्णिमा आचार्य, राष्ट्रिय जनमोर्चा दाङ क्षेत्र नम्बर २ का इन्चार्ज होमप्रसाद शर्मा, अखिल नेपाल शिक्षक संघका जीवराज शर्मा, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय सदस्य डिलाराम पौडेल, अखिल नेपाल बुद्धिजिवी संघका केन्द्रिय सल्लाहकार कृष्ण गिरी, अखिल भारत नेपाल मूल प्रबाह एकता समाजका नारायण पौडेल, कतार नेपाली एकता समाजका केन्द्रिय सल्लाहकार हुमकान्त आचार्य, राष्ट्रिय जनमोर्चा लालमटिया गाउँ पार्टी अध्यक्ष रमेशमान गुरुङ्ग, राष्ट्रिय जनमोर्चा सिसहनियाँ गाउँ पार्टी अध्यक्ष माधव आचार्य र राजमो गोबरडिहा सल्लाहकार हरि सुवेदी लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा दाङ क्षेत्र नम्बर २ का क्षेत्रिय सचिव रामकृष्ण आचार्यले गर्नु भएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij