प्रकाशित मिति : सोमवार, अशोज २४, २०७३
काठमाडौँ । नेपाल प्रहरीले चाडपर्वलाई ध्यानमा राखेर जनताको शान्ति, सुरक्षाका लागि विशेष कार्यदल बनाई खटाएको छ । यसका लागि काठमाडौँ उपत्यकामा मात्रै १२ वटा सहायता कक्ष सञ्चालन गरिरहेको छ ।
महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापाले चाडपर्वलाई लक्षित गरेर विशेष अभियान चलाएको बताउँदै आपराधिक क्रियाकलाप नहोस् भनेर पूर्ण सचेत भएको जनाउनुभयो ।
यात्रुको गन्तव्यसम्मको सुरक्षित यात्रादेखि अन्य सुरक्षा, चोरी, डकैती, पाकेटमारीबारे समेत प्रहरीले काम गरिरहेको बताउँदै एआइजी थापाले प्रहरी अहिले सादा पोसाक र सिभिलमै परिचालन गरिएको जानकारी दिनुभयो ।
जुवातास खेल्नेहरु पक्राउ
नेपाल प्रहरीले चाडपर्वका अवसरमा जुवातास खेल्नेलाई पक्राउ गरेको छ ।
प्रहरीले भक्तपुरको सूर्यविनायक नगरपालिका–१० पलासे निवासी ४९ वर्षीय अशोककुमार खत्रीको घरमा तास खेलिरहेको अवस्थामा खत्रीसमेत आठजनालाई नगद रु ३४ हजार ५१५ र दुई बुक ताससहित शनिबार पक्राउ गरेको छ । सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
चोरी गर्ने पक्राउ
यस्तै, चोरी कार्यमा संलग्न काठमाडौँ हात्तीगौडा बस्ने चितवन कोदारा–३ का १९ वर्षीय विकास गिरी र टोखा ग्रिनल्यान्ड बस्ने धादिङ गजुरी–१ का १८ वर्षीय अविषेक राईलाई आज प्रहरीले पक्राउ गरेको छ । उनीहरुले काठमाडौँको टोखा नगरपालिका–१२ ग्रिनल्यान्ड चोकस्थित थ्रिस्टार मासु पसलबाट शनिबार राति चोरी गरेका थिए ।
पसलको सटर फोरी काउन्टरमा रहेको रु तीन लाख २३ हजार २०० चोरी गरी फरार भएका उनीहरुलाई उक्त पसलको सिसी क्यामेराको सहायताले महानगरीय प्रहरी प्रभाग टोखाबाट खटिएको प्रहरीले चोरिएको नगदसहित पक्राउ गरेको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij