प्रकाशित मिति : बिहिबार, अशोज २७, २०७३
म्याग्दी । म्याग्दीको ऐतिहाँसीक स्थल ताकमकोतमा हरेक वर्षको वडादसैको अघिल्लो दिन महानवमी पर्वको अवसर पारेर आयोजना गरिने ठेलो फाल्ने प्रतियोगिताको उपाधि लगातार चार वर्ष एकै व्यक्तिले जितेका छन् ।
ताकम ४ का २१ वर्षिय अशोक खत्रीले यस वर्ष चौथो पटक ताकमकोतमा ठेलो फाल्ने प्रतियोगितामा बिजयी भएका हुन् । २५ जना प्रतियोगिलाई पछि पार्दै साढे सात किलो तौल भएको ठेलोलाई करिब सात मिटर टाढा फालेर “माल” घोषित खत्री यसअघि ०७०, ०७१ र ०७२ को पनि बिजेता हुन् ।
ताकमकोतमा ठेलो फालेर बिजयी हुनेलाई सो क्षेत्रमा पहलमान, बहादुर वा “माल”को रुपमा सम्मान गरिन्छ । ताकम, मुना, मुदी, लुलाङ, गुर्जा, देविस्थान देखि बागलुङको ढोरपाटन र लामेला तमानदेखि ठेलो फाल्न प्रतियोगिहरु आएका थिए ।
ताकम स्थित धौलागिरी बोर्डीङ स्कुलका प्रिन्सीपल रहेका खत्री ठेलो फाल्ने खेलप्रति आफ्नो पहिलेदेखिकै रुची भएको बताउँछन् । उनका दाजु दलबहादुर खत्रीले पनि यसअघि ताकमकोतमा ठेलो फालेर पहलमानको उपाधि पाएका थिए । ताकमकोतमा हुने ठेलो फाल्ने प्रतियोगिताका बिजेतालाई भब्य सम्मान गरिने भएकाले युवाहरुले यसलाई बहादुरी देखाउने अवसर र प्रतिष्ठाको रुपमा लिने गर्छन् ।
बाईसे चौबिसे राज्यका पालामा पर्वत राज्य अन्तरगत थापा राजाले राज्य सञ्चालन गरेको स्थान ताकमकोतमा प्रत्येक वर्ष महानवमी पर्वको पुजा गरेपछि परम्परागत रुपमा पहलमान पहिचान गर्न ठेलो फाल्ने प्रतियोगिता आयोजना हुदै आएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij