प्रकाशित मिति : मङ्लबार, कार्तिक २, २०७३
काठमाडौं । नियुक्ति वैधानिकताबारे जवाफ लेख्न सर्वोच्च अदालतले दिएको आदेशको म्याद बुझ्न अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्की र उनका परिवारले अस्वीकार गरेपछि सर्वोच्च अदालतले सार्वजनिक सञ्चारमाध्यममार्फत सूचना निकाल्ने तयारी थालेको आजको राजधानी दैनिकमा खबर छापिएको छ ।
म्याद बुझाउन पुगेको सर्वोच्च अदालतको टोलीलाई तेस्रोपटक पनि स्थानीय र कार्कीका आफन्तले अवरोध गरेपछि अदालत सार्वजनिक सञ्चारमाध्यममा ३५ दिने सूचना निकाल्ने तयारीमा जुटेको हो ।
सोमबार तेस्रोपटक म्याद तामेलको प्रयासमा पनि वडा कार्यालय, घर बहालमा लिएर बस्ने व्यक्ति तथा कार्कीका आफन्तले असहयोग गरेपछि पत्रिकामा सूचना निकालेर म्यादको सूचना दिने तयारीमा जुटेको अदालत प्रशासन स्रोतले बतायो ।
उनको नियुक्तिलाई चुनौती दिँदै दायर रिट निवेदनलाई पुनः सुनवाइ गर्ने आदेश दिँदै अदालतले कार्कीसँग लिखित जवाफ मागेको थियो । अदालतको आदेशअनुसार बानेश्वरस्थित कार्की निवासमा पुगेको सर्वोच्च अदालतको टोलीलाई सोमबार पनि अवरोध गरिएको हो । कार्कीको घरमा भाडा लिएर बस्ने व्यक्ति र कार्कीका नातेदारले अदालतको म्याद टाँस गर्न नदिएपछि तामेलीका लागि पुगेको टोली म्याद नै नटाँसी फर्किएको छ ।
कार्कीलाई विपक्षी बनाई दायर रिटमा उनको ठेगाना बानेश्वर उल्लेख भएका कारण अदालतले सोही ठेगानामा म्याद तामेलको प्रक्रिया अघि बढाएको हो । प्रमुख आयुक्त कार्की विदेशमा भएका कारण उनलाई बुझाउन नसेकपछि अदालतका तामेलदारले घरमा म्याद टाँस गर्ने प्रयास गर्दै आएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij