प्रकाशित मिति : मङ्लबार, कार्तिक २, २०७३
काठमाडौँ । नेपाल टेलिकमले आगामी मंसिरभित्र काठमाडौं उपत्यका र पोखराबाट चौथो पुस्ताको (फोरजी) मोबाइल सेवा सुरु गर्ने भएको छ ।
टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणमा फोरजी सञ्चालनसम्बन्धी कार्ययोजना पेस गर्दै मंसिर ३० भित्र सेवा सुरु गर्ने प्रस्ताव गरेको हो । प्राधिकरणले कार्ययोजना स्वीकृत गरे उसले प्रस्तावित समयमै सेवा सुरु गर्न पाउनेछ । ‘टेलिकमले सोमबार फोरजी सञ्चालनसम्बन्धी कार्ययोजना पेस गरेको छ,’ प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘योजनामा मंसिर ३० बाट सेवा सुरु गर्ने उल्लेख छ ।’
टेलिकमले फोरजी सेवामा इन्टरेटको गति ३० मेगाबाइट्स प्रति सेकेन्ड (एमबीपीएस) चलाउन सकिने प्रस्ताव गरेको छ । ‘फोरजीमा उच्च गतिको इन्टरनेट सुविधा हुनेछ,’ टेलिकम प्रवक्ता प्रतिभा वैद्यले भनिन्, ‘हामीले कार्ययोजनामा कम्तीमा ३० एमबीपीएस गतिको डाटा दिने उल्लेख गरेका छौं ।’ उनले कार्ययोजनामा तोकिएको समयभित्रै सेवा सुरु गर्न तयारी थालिसकेको जानकारी दिइन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij