प्रकाशित मिति : शनिबार, कार्तिक ६, २०७३
काठमाडौं । युनिटी लाइफ इन्टरनेश्नल कम्पनीको ठगी प्रकरणमा विश्वनाथ गौतमलाई फसाईएको भन्दै प्रधानमन्त्री निवास बालुवाटार छेउमा धर्ना बस्न गएको समूहलाई प्रहरीले अबरोध गरेको छ ।
न्यायका लागि एक महिनादेखि बानेश्वरछेउ सडक धर्नामा रहेका आफन्त तथा परिवारका सदस्यले आज दवावका लागि प्रधानमन्त्री कार्यालयको छेउमा धर्ना बस्न गएका थिए ।
बालुवाटारको निषेधित क्षेत्रबाहिर धर्ना बस्न लाग्दा १२ जनालाई पक्राउ गरी कमलपोखरी प्रहरी बृतमा ल्याएको बिश्वनाथ गौतमका परिवारले बताएका छन् ।
धर्नाका लागि प्लेकार्ड, ब्यानर सहित एक सय ५० जनाले धर्ना गर्ने कार्यक्रम राखिएको दीपा अधिकारी गौतमले बताइन् ।
६ बर्षदेखि विश्वनाथ गौतम नख्खु कारागारमा छन् । उनी निर्दोष रहेको विभिन्न प्रमाण परिवारसँग रहँदा रहँदै पनि सरकारले अन्याय गरेको भन्दै गौतमका परिवार तथा आफन्तले सडक आन्दोलन र धर्ना गर्दै आएका छन् ।
गौतमकी श्रीमती दीपा सहित परिवारका सदस्य र आफन्तले बानेश्वरमा धर्ना दिएको पनि एक महिना भएको छ ।
विश्वनाथ गौतमलाई न्याय दिन माग गर्दै दशैमा पनि उनको परिवार सडक धर्नामा बसेका थिए । धर्नामा विभिन्न पार्टीका नेताहरु उपस्थित भएर न्यायका लागि ऐक्यबद्धता जनाएपनि न्याय दिन सरकारले आलटाल गरेकोमा परिवारको गुनासो छ ।
विश्वनाथ गौतमका परिवारले उनी यूनिटीको संचालक तथा शेयरहोल्डर नभएको प्रमाण सहित सरकारी निकाय धाँउदा समेत सुनुवाई नभएपछि आन्दोलन थालेका हुन् । विश्वनाथ गौतम २०६८ असार ३ गतेबाट नख्खु जेलमा छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij