सोमवार, कार्तिक १७, २०८३ | Monday 2nd November 2026

फिल्मी शैलीमा प्रहरी ‘सई’ को ठगी धन्दा !

  • प्रकाशित मिति : शनिबार, कार्तिक ६, २०७३



  • सर्वसाधारणको शान्ति शुरक्षाका लागी खटिने नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक ‘सई’ नै ठगी धन्दामा संलग्न भएको पाईएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र कालोपुलमा कार्यरत सई युवराज थापाले ‘एयरपोर्टमा सेटिङ मिलाउँछु’ भन्दै करिब एक दर्जन युवा–युवतीहरुलाई ठगेको भेटिएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उनलाई कारवाहीका लागी प्रहरी प्रधान कार्यालयलाई सिफारिश गरेको छ ।

    नेपालगञ्जका टोपीराम जैसीको सुनिल प्रधान मार्फत बैतडीका रमेशनाथसँग चिनजान भएको थियो । एक बर्षअघि चिनजान भएका रमेशनाथले दुवईस्थित एउटा सेक्युरीटी गार्ड सप्लाई गर्ने कम्पनीमा राम्रो कमाइ हुने अवसर आएको भन्दै टोपीरामलाई विदेशिन प्रस्ताव गरेका थिए ।

    श्रम विभागको स्विकृतीबिना भिजिट भिसामा दुवई जाने टिकट दिँदै गर्दा रमेशनाथले कालोपुलका सई युवराज थापासँग भेट गराएर भनेका थिए, ‘उँहाले सवै सेटिङ मिलाउनु भएको छ, दुवईमा उँहा (सुवास सर)ले नै काम मिलाईदिनुहुन्छ ।’ पीडितले प्रहरीलाई अहिले यस्ता खाले ठगी सवै घटना सुनाएका छन् ।

    टोपीरामलाई एयरपोर्टमा बिदाई गर्न समेत पुगेका थापाले ‘यहाँ सवै मैले मिलाएको छु, दुवई पुगेपछि विपिन श्रेष्ठलाई सम्पर्क गर्नु, उसले काम खोजिदिन्छ’ भन्दै बिदा भएका रहेछन् । त्यसबापत टोपीरामले रमेशनाथलाई तीन लाख पचास हजार बुझाएका थिए । एयरपोर्टबाट बिदा हुनेबेला रमेशनाथले सोही तीन लाख पचास हजार मध्येबाट १ लाख ४४ हजार टोपीरामलाई दिँदै भनेका थिए, ‘यो पैसा दुवईमा लगेर विपिन श्रेष्ठलाई दिनु ।’

    विपीनले पैसा लिए । तर, डेढ महिना दुवईमा अलपत्र पारेर काम मिलाईदिएनन् भन्ने पीडतको भनाई छ । त्यसपछी टोपीरामले नेपालमा रमेशनाथलाई सम्पर्क गरेर ‘आफुले अझै काम नपाइएको गुनासो गर्दै यस्तै बिचल्लीमा पारिए, प्रहरी र मिडियामा खबर गर्ने’ चेतावनी दिए । उनको यस्तो चेतावनीपछि दुवई पुगेका रमेशनाथले प्रहरी सई युवराज थापाको फोटो देखाउँदै ‘सवै काम सुवास थापा’ ले गरेको बताएका थिए ।

    बास्तविक नाम युवराज थापा भएपनि सुवास थापाको नामबाट उनले ठगी गर्दै आएको महानगरीय प्रहरी कार्यालयको डिआईजी मिङमार लामाले बताए । उनले भने, ‘रमेशनाथ भन्ने दलालको सहयोगमा बास्तविक नाम लुकाएर सुवास थापाको नामबाट उसले ठगी गर्ने गरेको खुलेको छ ।’

    टोपीराम जस्तै अन्य दश जनासँग रमेशनाथ र विपीन श्रेष्ठसँग मिलेर लाखौं ठगेका युवराज थापाबारे छानविन गरेर प्रतिवेदन तयार गर्न भन्दै महानगरीय प्रहरी कार्यालयले करिब एक महिनाअघी डिआईजी मिङ्मार लामाको अध्यक्षतामा कमिटी गठन गरेको थियो । एसएसपी शरद चन्द, एसपीहरु सहकुल थापा र नरेशमान श्रेष्ठ तथा डिएसपी होविन्द्र बोगटी सम्मिलीत कमिटीले केहि दिनअघी बुझाएको प्रतिवेदनमा सई थापालाई भविष्यमा सरकारी सेवाका लागी योग्य हुनेगरी प्रहरी संगठनबाट बर्खास्त गर्न सिफारिश गरेको छ ।

    बर्दिको रवाफ देखाएर थापाले ठगेका अर्का ब्यक्ति हुन् शुरेश बहादुर चन्द । यातायात क्षेत्रमा काम गर्दा रमेशनाथसँग उनको चिनजान भएको थियो । दुवईमा ८ घण्टा काम गरेको मासिक ६५ हजार कमाई हुने काममा प्रहरीका एकजना सईले पठाउने गरेको भन्दै रमेशनाथले शुरेशलाई युवराजसँग भेट गराएका थिए । भेटका क्रममा युवराज थापालाई चिनाउँदै रमेश नाथले भनेका थिए, ‘उँहा प्रहरी हो, एयरपोर्टको सवै सेटिङ मिलाउनुहुन्छ ।’ प्रहरीले अनुसन्धानमा यस्तो पाएको हो ।

    यसरी प्रहरीले नै पठाएको भन्दै ढुक्क भएर भिजीट भिसामा दुवई पुगेका चन्दले त्यहाँ लामो समय काम नपाएपछि आफु ठगीएको चाल पाएका थिए ।

    डिआईजी लामाका अनुसार चन्द, जैसी र गौतम गिरीले प्रहरीको सम्पर्कमा आएर आफुलाई प्रहरी बताउने युवराज थापाबाट ठगिएको बयान दिएका छन् । ‘सईले पुलिस रिपोर्ट, ट्राभल डकुमेन्ट र जहाँजको टिकट मिलाउने गरेको देखिन्छ’ डिआईजि लामाले भने, ‘उसले ठग्नका लागी एयरपोर्टमा सेटिङ मिलाएको छु भन्ने गरेको रहेछ, ट्राभल डकुमेन्ट भएपछि दुवई जान सेटिङ मिलाउनै परेन् ।’

    झुक्याएर जवानलाई दोस्री बनाए, पोलिग्राफ गर्ने प्रहरी चकित !

    बास्तविक नाम युवराज थापा भएपनी सुवास थापाको आवरणमा ठगी गर्दै आएका युवरालजाई चिन्न महानगरीय प्रहरी कार्यालयलाई निकै कठिन परेको थियो । पछि सुवास भन्ने युवराज थापा नै हो भन्ने लिंकेज कनेक्सन हुँदा उनि बिदामा रहेको खुल्यो । ‘उनले फेशबुकमा राखेको प्रोफाइल तस्बिर र मोवाइलमा भएको गणेशको फोटो म्याच भयो’ डिआइजी लामाले भने, ‘आफुमाथी छानविन शुरु भएको थाहा पाएपछि उनी भाग्न खोजेका थिए, हामीले सरेन्डर गर्न आग्रह गर्यौं ।’

    सर्लाहीमा स्थायी बसोबास गर्दै आएका युवराज थापाले कालोपुलमा आफु मातहत कार्यरत प्रहरी जवानलाई ढाँटेर बिहे गरेको खुलेको छ ।

    सिन्धुलीकी ती जवानले आफ्नो सिँउदोमा सिन्दुर परेको निकै पछिमात्र थाहा पाएकी थिइन्, ‘म युवराज थापाको दोस्री श्रीमती पो रहेछु !’

    दुवई स्थित एक सेक्युरीटी गार्ड सप्लाई गर्ने कम्पनीमा मासिक ७८ हजार भन्दा धेरै कमाई हुन्छ भन्दै मान्छे पठाएर ठगी गर्दै आएका थापाले छानविन समितिलाई सवै कुरा ढाँटेका थिए । ‘कल डिटेल्स हेर्दा धेरै कुरा खुलेको थियो’ डिआईजी लामाले भने, ‘उसले सबै कुरा नकारेपछि हामीले पोलिग्राफ टेष्ट गरायौं ।’

    ‘युवराज हुँ सुवास थापा चिन्दिनँ’ भनेर कारवाहीबाट बच्न खोजेका थापालाई पोलिग्राफ गराउँने प्रहरी कर्मचारी नै चकित परेका थिए । प्रहरीको जिम्मेवार ब्यक्ति भएपनी हरेक कुरा ढाँटेको कुरा पोलिग्राफमा देखिएपछी पोलिग्राफ गराउने प्रहरी कर्मचारीले डिआईजी लामासँग भनेका थिए, ‘मैले यस्तो मान्छे आजसम्म देखेको थिईंन, सर !’

    छानविन समितिको अनुसन्धानका क्रममा हाल निलम्बनमा रहेका थापाको सिरानीमा एउटा डायरी फेला परेको थियो । ‘डायरी मेरो हैन’ भनेर जिकीर गरेका थापाले सोही डायरीमा रहेको एउटा पेजमा एक डिएसपीले गरेको ब्रिफिङको टिपोट भेटियो । ‘यो फलानो डिएपीको ब्रिफिङ टिपोट गरेको पेज कस्को हो भनेर सोध्दा उनले भनेका थिए, ‘त्यो पेजमात्रै मेरो हो, तर डायरी मेरो हैन ।’

    यसअघि पनि दुई पटक कारवाहिमा परेका थापा यतिसम्म चतुर थिए कि उनले पहिलेको कारवाहीको अभिलेख प्रहरी प्रधान कार्यालयबाटै गायव गराएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij