प्रकाशित मिति : आइतवार, कार्तिक ७, २०७३
काठमाडौँ । अख्तियार दुरुपयोग आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि लगाइएको महाअभियोग प्रस्तावको विषयमा विद्यार्थी संगगठन विभाजित बनेको छ ।
महाअभियोग प्रस्ताव पारित हुनुपर्छ भन्दै आन्दोलनमा उत्रेका विद्यार्थी संगठनहरुमा मधेशी मोर्चामा आबद्ध विद्यार्थीहरुले फरक मत राखेका छन् ।
मधेशी मोर्चामा आबद्ध विद्यार्थीहरुले महाअभियोगको प्रस्ताव दर्ता हुनुको साथै संविधान संशोधनको विधेयक पनि दर्ता हुनुपर्ने अडान लिएको छ । ‘हामीहरु महाअभियोगको विपक्षमा वा लोकमानलाई बचाउने पक्षमा पनि होइनौँ तर आफूहरुले उठाउँदै आएको संविधान संशोधनको प्रस्ताव पनि सँग सँगै लानुपर्ने अडान हो, तराई मधेश विद्यार्थी फ्रन्टका अध्यक्ष मनिष मिश्राले जानकारी गराए ।
आज ११ विद्यार्थी संगठनहरुको संयुक्त बैठकमा मोर्चामा आबद्ध विद्यार्थीहरु लोकमानविरुद्ध महाअभियोगको प्रस्ताव ल्याएर संविधान संशोधनको विषयलाई ओझेलमा पारेको दाबी गर्दै संविधान संशोधनको प्रस्तावलाई पनि अगाडी बढाउन दलहरुलाई दबाब दिनुपर्ने बैठकमा प्रस्ताव राखेको छ ।
महाअभियोग प्रस्ताव पारित हुनुपर्छ भन्ने दबाबका लागि भइरहेको आन्दोलनमा संविधान संशोधनको एजेण्डा पनि राख्नुपर्ने आफूहरुको अडान रहेको तराई लोकतान्त्रिक विद्यार्थी फ्रन्टका अध्यक्ष जेपी यादवले बताए ।
संविधान संशोधनको प्रस्तावलाई पनि एजेण्डा बनाइएन भने आफूहरु आन्दोलनमा सरिक नहुने भनिसकेको उनले बताए ।
मधेशी मोर्चाआबद्ध विद्यार्थीहरुको यो प्रस्तावप्रति अन्य विद्यार्थी संगठन सकारात्मक देखिएपनि एमाले निकट अनेरास्ववियुले भने आपत्ति जनाएको मोर्चा आबद्ध विद्यार्थी नेताहरुले बताए ।
आजको बैठकमा मधेशी मोर्चा आवद्ध विद्यार्थीहरुको यस्तो प्रस्ताव आएपछि अनेरास्वियुका विद्यार्थीले सरकार विघटनको माग राखेका थिए । ‘यो सरकार विघटन गरी राष्ट्रिय सहमतिको सरकार गठन गर्ने प्रस्ताव पनि लगेपछि मात्र आफूहरु संविधान संशोधनको प्रस्तावमा सहमत हुने अनेरास्ववियुका विद्यार्थीहरुले राखेको नेताहरुले बताए ।
विवाद समाधान नभएपछि महाअभियोगको पक्षमा माइतीघरमा दुई बजेदेखि हुने विद्यार्थीको प्रदर्शनमा मधेशी मोर्चा आबद्ध विद्यार्थीहरुले सहभागि नहुने जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij