प्रकाशित मिति : आइतवार, कार्तिक ७, २०७३
पोखरा । मर्दी हिमाल ट्रेकिङ गएका इजरायली नागरिक पाँच दिन देखि वेपत्ता छन् । सेप्टेम्बर २८ मा नेपाल आएका ४५ बर्षीय अमित र्याचम्यान एक्लै मर्दी हिमाल ट्रेक गएका थिए । उनी कात्तिक ३ देखि वेपत्ता भएको प्रहरीले जनाएको छ ।
उनी ४७ सय मिटरको उचाईमा रहेको मर्दी हिमाल बेस क्याम्प पुगेपछि बेपत्ता भएका थिए । उनको खोजीमा ५ जना नेपाल प्रहरी, एक्यापका एक जना, स्थानिय चार जना तीन दिन देखि खटिएका छन् । स्थानिय प्रदिप गौतम, पूर्ण गुरुङ, राजकुमार तामाङ सहितको टोली खोजीमा जुटेको छ ।
खोजीको लागि इजरायली टोली दुई वटा हेलिकप्टर सो क्षेत्रमा पुगेको छ । एयर डाइनेष्टी र मनाङ एयरको हेलिकप्टर मार्फत आईतवार दिनभर उनको खोजी गरिएपनि फेला पार्न नसकिएको सो क्षेत्रमा पुगेका फोटो पत्रकार दुर्गा प्रसाद पौडेलले जानकारी दिए ।
पोखराबाट स्विस र्याफ्टिङ एण्ड ट्रेकिङका टोली र इजरायली टोली गरी आइतवार ८ जनाको अर्को टोली खोजीम जुटेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका अनुसार अक्टोवर १५ मा उनी पोथना प्रवेश गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरिक्षक घनश्याम अर्यालले मानिस बेपत्ता भएको खबर आएलगतै कात्तिक ४ गते देखि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव निरिक्षकको कमाण्डमा पाँच जनाको टोली पठाइएको जानकारी दिए । स्थानियवासीको सहयोगमा खोजी कार्य जारी रहेको उनले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij