प्रकाशित मिति : सोमवार, कार्तिक ८, २०७३
लमजुङ । जिल्लाको उत्तरी भेगमा पर्ने बाहुनडाँडामा रहेको तातोपानी कुण्डमा नुहाउने सिजन सुरु भएको छ ।
बाहुनडाँडा गाविस–४ मा रहेको सो तातोपानी कुण्डमा प्राय जाडोको सिजनमा नुहाउन आउनेको भीड लाग्ने गर्छ । कात्तिकबाट फागुनको अन्तिम सातासम्म तातेपानीमा नुहाउने सिजन सुरु भएपछि विभिन्न ठाउँबाट मानिस नुहाउन आउने गरेका छन् ।
जाडोयाममा तातोपानीमा नुहाउनुको आनन्द त छदैछ, तातोपानीमा नुहाउनाले दाद, घाउ, खटिरा, चाया, डन्डिफोर जस्ता छालासम्बन्धी रोग, बाथ, हाडजोर्नी, नशासम्बन्धी विभिन्न रोग निको हुने जनविश्वास रहेको छ ।
“विभिन्न रोगबाट निको हुने भएकाले धेरै टाढाबाट पनि तातोपानी नुहाउन आउने गरेका छन्” स्थानीय रवीन्द्र घिमिरेले भने ।
एक पटक मात्र नुहाएर निको नहुने भन्दै हप्ता दिनसम्म पनि निरन्तर तातोपानी नुहाउन मानिस आउने गरेका छन् ।
हप्ता दिनभन्दा पनि धेरै नुहाएमा नशा, छालालगायतका शरीरका रोग निको हुने विश्वास रहेको त्यहाँ नुहाउन जानेको भनाइ छ ।
स्वास्थ्यको लागि लाभदायक तातोपानी धार्मिक रुपमा पनि महत्वपूर्ण भएको मानिन्छ । प्राकिृतक र धार्मिक रहस्यको तत्काल खोजी गरी वास्तविकतालाई प्रचारप्रसार गर्नसके ठुलो सङख्यामा धार्मिक पर्यटक आउने स्थानीय बताउँछन् ।
“चिसो मस्र्याङ्दी नदीको छेवैमा छुन नसकिने तातोपानीको मूल हुनु दैविक शक्तिको प्रभाव हुन सक्छ” स्थानीय शिक्षक लोकनाथ घिमिरेले भने “धार्मिक आस्था राख्ने बर्सेनि नुहाउन आउछन् ।”
पछिल्लो समय लमजुङबाट मनाङसम्म सवारी सञ्चालन भएपछि मनाङबाट झर्ने पनि तातोपानीमा नुहाउने गरेको स्थानीयले बताएका छन् ।
सदरमुकाम बेँसीसहरबाट खुदी हुँदै गाडीमा दुई घन्टामा तातोपानी पुग्न सकिन्छ । पहराको फेदमा जमिनमुनिबाट उमालेको पानी जस्तै गरी मूल फुटेको पानी निकै तातो छ । सो तातोपानीको मूलमा अन्डा वा आलु समेत उसिन्न सकिने स्थानीयवासी बताउँछन् ।
जाडोयाम सुरु भएलगत्तै नुहाउनको लागि मानिसको भीडभाड हुने यस तातोपानीको कुण्डको उचित व्यवस्थापन र थप प्रचारप्रसार गर्नसके अझ धेरै पर्यटक आउन सक्ने उत्तरी लमजुङ पर्यटन विकास समितिका अध्यक्ष नरबहादुर गुरुङ बताउँछन् ।
विश्व प्रसिद्ध अन्नपूर्ण पैदलमार्गमा पर्ने यस प्रकृतिक र धार्मिक सम्पदाको प्रभावकारी संरक्षण र प्रवद्र्धन गर्नसके यसले उल्लेख्य आन्तरिक तथा बाह्य पर्यटकको पनि आकर्षण गर्ने सरोकारवालाले बताएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij