प्रकाशित मिति : मङ्लबार, कार्तिक ९, २०७३
पोखरा । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणको क्रममा सवा तीन घण्टाको लागि पोखरा आउने भएका छन् । राष्ट्रपति मुखर्जी कात्तिक १९ गते जनकपुर हुदै पोखरा आउने भएपछि स्थानिय स्तरमा तयारी सुरु गरिएको छ ।
उनको पोखरा आगमनलाई भब्य बनाउने तयारी स्वरुप क्षेत्रीय प्रशासकको संयोजकत्वमा मुल ब्यवस्थापन समिति र विभिन्न पाँच वटा उपसमिति गठन गरिएको छ । मंगलवार आयोजित बैंठकबाट क्षेत्रीय प्रशासक खगराज बराल संयोजक रहेको मुल ब्यवस्थापन सहयोग समिति गठन गरिएको छ । समितिमा पोखरास्थित चारवटै सुरक्षा निकायका क्षेत्रीय प्रमुख, जिल्ला प्रमुख, स्थानिय विकास अधिकारी, पोखरा उपमहानगरपालिकाका , लेखनाथ नगरपालिकाका प्रमुख, नीजि क्षेत्र, सामाजिक संघसंस्थाका प्रमुख सदस्य रहेका छन् ।
भ्रमण तयारीको लागि पोखरा उपमहानगरपालिले संयोजन गर्ने गरी स्वागतद्धारा निर्माण, सौन्दर्यीकरण तथा सरसफाई उपसमिति, विन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठको संयोजकत्वमा स्वागत ब्यवस्थापन उपसमिति, स्थानिय विकास अधिकारीको संयोजकत्वमा पूर्वाधार निर्माण उपसमिति र पत्रकार महासंघ कास्की संयोजक रहने गरी प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।
क्षेत्रीय प्रशासक बराललका अनुसार राष्ट्रपति मुखर्जी काठमाडौंबाट कात्तिक १९ गते विहान जनकपुर जाने र जनकपुरबाट मध्यान्ह १२ बजे पोखराको लागि प्रस्थान गर्ने कार्यक्रम छ । मुखर्जी पौने एक बजे पोखरा विमानस्थलमा अबतरण हुने र बिरौटा स्थित होटल पोखरा ग्राण्डमा केहिबेर आराम गर्ने कार्यतालिका छ । होटलबाट पोखरा १० रामबजार स्थित भारतीय पेन्सन क्याम्पमा जाने र त्यहा उपस्थित झण्डै १० हजार भूतपूर्व भारतीय सैनिकलाई सम्बोधन गर्ने कार्यक्रम छ । सो कार्यक्रम सकेर राष्ट्रपति मुखर्जी अपरान्ह ४ बजे काठमाडौं फर्किने क्षेत्रीय प्रशासक बरालले बताए ।
राष्ट्रपति विमानस्थलमा अबतरण भएपछि जाने होटल तथा होटलबाट जाने कार्यक्रम स्थल सम्मको बाटोमा स्वागत , सत्कारको लागि गेट निर्माण स्थानिय भेषभूषा तथा झाकी प्रदर्शन, ट्राफिक ब्यवस्थापन, सुरक्षा ब्यवस्थापन लगायतको सबै तयारी गर्न विभिन्न समिति गठन गरिएको हो ।
क्षेत्रीय प्रशासक बरालको संयोजकत्वमा भएको बैंठकमा नेपाली सेनाको पश्चिम पृतनाका निमित्त पृतनापति दीलीप विष्ट, सशस्त्र प्रहरी मुक्तिनाथ वाहिनीका सशस्त्र प्रहरी नायव महानिरिक्षक नरेन्द्र कुमार सिंह, गण्डकी अञ्चल प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक महेन्द्र पोखरेल, राष्ट्रिय अनुसन्धान क्षेत्रीय प्रमुख रवीन्द्र पण्डित, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनाली, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक घनश्याम अर्याल सहभागि थिए । त्यस्तै पोखरा स्थित सम्बन्धित सबै सरकारी कार्यालयका प्रमुख, पर्यटन ब्यवसायी, नागरिक समाज एबं सामाजिक संघसंस्थाका प्रमुखहरुको सहभागिता थियो । बैंठकले भारतीय राष्ट्रपतिको झण्डै तीन घण्टे पोखरा बसाइलाई ब्यवस्थित एबं भब्य बनाउने निर्णय गरेको छ ।
राष्ट्रपति मुखर्जीले कात्तिक १७ देखि १९ सम्म नेपालको राजकिय भ्रमण गर्दैछन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij