प्रकाशित मिति : मङ्लबार, कार्तिक ९, २०७३
काठमाडौँ ।आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमन टोलीले कालीमाटीस्थित स्टार मिट प्रोडक्टमा रहेको ५०४ किलो मासु तथा तयारी ससेज नष्ट गरेको छ ।
अनुगमनका क्रममा कालीमाटीमा पुगेको टोलीले स्टार मिट प्रोडक्टमा राखिएको मासु खानका लागि अयोग्य ठहर भएपछि नष्ट गरेको हो । व्यवसायी, अनुगमन टोली, स्थानीय प्रशासन र सञ्चारकर्मीको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको रोहवरमा उक्त मासु नष्ट गरेको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए ।
उक्त पसललाई आजकै मितिदेखि कारोबार रोक्का गरी महानगरीय प्रहरी वृत्त कालीमाटीलाई कडाइका साथ निगरानी राख्न निर्देशन दिँदै तीन दिनभित्र स्पष्टीकरणसहित विभागमा आउन निर्देशन दिएको छ ।
त्यसैगरी फ्रेस फ्रुटी एन्ड जुस सप मीनभवनबाट कुहिएको १० किलो फलफूल नष्ट गर्नुका साथै उक्त पसललाई तीन दिनभित्र विभागमा आउन निर्देशन दिइएको छ ।
विभागले आज मात्रै काठमाडौँ उपत्यकाको विभिन्न ३९ वटा पसलको अनुगमन गरेको थियो । अन्य पसलबाट पनि मिति सकिएको र खानका लागि अयोग्य चाउचाउ र केही चिसो पेयपदार्थ नष्ट गरेको विभागले जानकारी गराएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij