प्रकाशित मिति : बिहिबार, कार्तिक १८, २०७३
महोत्तरी । जनकपुरस्थित जानकी मन्दिरको भेटीबाट प्राप्त हुने आम्दानीले २ नम्बर प्रदेश धान्न नसकिने सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता एवम पूर्वमन्त्री हरिनारायण यादवले बताएका छन् ।
पार्टी प्रशिक्षण एवम् क्षेत्रीय भेलालाई सम्बोधन गर्न महोत्तरीको गौशाला आउनुभएका पूर्व कृषिमन्त्री यादवले पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै सङ्घीयताअनुसार कायम भएको दुई नम्बर प्रदेशमा वन, जङ्गल, औद्योगिक क्षेत्र, पर्यटन क्षेत्र लगायतका आम्दानीका स्रोत नभएकाले यस क्षेत्रका प्रमुख स्थल मानिने जनकपुरस्थित जानकी मन्दिरबाट प्राप्त हुने आम्दानीले मात्र यो प्रदेशलाई धान्न नसकिने बताए ।
आफुहरुले जनसङ्ख्याका आधारमा प्रदेश गठन गरिनुपर्ने माग गर्दै आएकाले तराईमा दुई प्रदेश आवश्यक रहेको उनले प्रतिक्रिया दिए । एक अर्को प्रसङ्गमा यादवले आफूहरुको आन्दोलन मधेस मुक्तिका लागि मात्र नभई देशका सम्पूर्ण आदिवासी, जनजाति, मुस्लिम, पिछिडिएको हरेक समुदायको संविधानमा समान हकअधिकार स्थापित गराउनका लागि रहेको बताए । सो हकअधिकार संविधानलाई संशोधन गरी उनीहरुको माग पूरा गरिनुपर्ने अतिआवश्यक रहेको उनले बताए ।
प्रधानमन्त्रीको चुनावपूर्व भएको सम्झौताअनुरुप छठसम्म आफूहरुको माग सम्बोधन नगरे आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिई नयाँ शिराबाट आन्दोलनमा उत्रिने उनले चेतावनी दिए ।
त्यस्तै, सोही कार्यक्रमबीच पूर्वसभासद् एवम् केन्द्रीय सदस्य कौशलकुमार यादवले सरकारले नै मधेसीमाथि विभेद गर्दा आफूहरु आन्दोलनमा उत्रेको बताए । आफूहरुको यो लडाइँ कुनै व्यक्तिगत, जातिगत, सामाजिक स्वार्थका लागि नभई भावी पुस्ताले गर्वका साथ आफू मधेसी सन्तान भएको पहिचान दिलाउनका लागि भएको धारणा नेता यादवले राखे ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij