प्रकाशित मिति : बुधबार, मंसिर १५, २०७३
अर्घाखाँची । सरकारले सीमाङ्कन हेरफेरसहित संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेको बिरोधमा अनिश्चितकालीन अर्घाखाँची बन्दको आह्वान गरिएको छ ।
पाँच नम्बर प्रदेशअन्तर्गतको पहाडी जिल्ला अर्घाखाँची टुक्र्याएर ४ नम्बर प्रदेशमा गाभेकोे भन्दै उद्योग वाणिज्य सङ्घको नेतृत्वमा आज जिल्लामा रहेका विभिन्न क्रियाशील सङ्घसंस्थाको आयोजनामा अर्घाखाँची बन्द गरिएकोे उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए ।
बन्दका कारण जिल्लाका सम्पूर्ण शैक्षिक संस्था, कलकारखाना, बजार र यातायातका सम्पूर्ण साधन बिहानैदेखि ठप्प रहेका छन् । बिहान क्याम्पस पढ्न गएका विद्यार्थी घर फर्किएको देखिन्थ्यो ।
जिल्लावासी सबैको चासो र आवश्यकताको विषय रहेकोले बन्दमा जिल्लामा रहेका सबै राजनीतिक दलको समेत समर्थन रहेको नेकपा एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले बताए।
उद्योगी, व्यवसायी तथा युवा विद्यार्थी बजार बन्द गराउन नहिँडे पनि स्वतस्फूर्तरुपमा बजार, गाडी तथा शैक्षिक संस्था बन्द रहेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij