प्रकाशित मिति : शनिबार, मंसिर १८, २०७३
इनरुवा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्ताव पारित हुने विश्वास व्यक्त गरेका छन् ।
प्रेस युनियन सुनसरीले लौकहीमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले सो कुरा बताएका हुन् ।
देउवाले अहिलेको संविधान संशोधनले समस्याको समाधान गर्ने भएकाले पारित हुने र त्यसपछि मुलुक राजनीतिक निकास तर्फ उन्मुख हुने बताए ।
उनले संविधान संशोधनमा एमालेले पनि साथ र सहयोग गर्नेमा आफू विश्वस्त रहेको उल्लेख गरे । पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले संविधान संशोधन भएपछि मुलुक निर्वाचनमा जाने र शान्ति तथा स्थायित्व कायम हुने विश्वास व्यक्त गरे ।
उनले काँग्रेस १ नं प्रदेशबाट सुनसरी, मोरङ र झापा टुक्राउन कुनैपनि हालतमा सहमत हुदैन भने।
उनले संविधान संशोधन प्रस्ताव पारित नभए पनि सरकार परिवर्तन नहुने र यही सरकारले काम चलाउने जिकिर गरे।
सभापति देउवाले संविधान संशोधन प्रस्ताव मधेसी दलका लागि नभई मधेसी जनताका लागि भएका कारण यो प्रस्तावलाई सबैले स्वीकार गर्नुपर्ने विचार व्यक्त गरे ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीताराम मेहता, श्रम राज्यमन्त्री दिलीप गच्छदार, पूर्व सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजाल, पूर्व वनमन्त्री महेश आचार्य, काँग्रेसका केन्द्रीय सदस्य फरमुल्लाह मन्सुर, सुनसरी जिल्ला सभापति राजिव कोइराला, सचिव केदार भण्डारीलगायतको सहभागिता रहेको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij