प्रकाशित मिति : सोमवार, पुस १८, २०७३
काठमाडौं । व्यवस्थापिका संसद बैठक भोलि दिउँसो एक बजेसम्मको लागि स्थगित गरिएको छ ।
आज दिउँसो एक बजेको लागि बोलाइएको बैठक प्रमुख प्रतिपक्षी दल एमालेसहितका विपक्षी दलहरुले अवरोध गरेपछि दिउँसो ४ बजेका लागि बोलाइएको बैठक पुनः भोलि दिउँसो २ बजेसम्मको लागि स्थगित गरिएको हो ।
यसअघि बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलहरुले संशोधन प्रस्तावको विरोध गर्दै संसद चल्न नदिने बताएपछि सभामुख ओनसरी घर्तीले बैठक दिउँसो ४ बजेसम्मको लागि स्थगित गरेकी थिइन् ।
संसद स्थगित भएसँगै दलहरुबीच संसद खुलाउने विषयमा यो बीचमा सहमतिको प्रयास हुने बताइएको छ ।
गत मंसिर १४ मा सरकारले संशोधन प्रस्ताव संसदमा दर्ता गरेसँगै एमालेले लगातार संसद अवरुद्ध पार्दै आएको छ ।
कांग्रेस, माओवादी केन्द्रसहितका सत्तारुढ दल विधेयक टेबुल गरेर मतदानमार्फत टुंगो लगाउनुपर्ने पक्षमा छन् भने एमालेसहितका विपक्षी दल विधेयक संसद्मा छलफलको विषय नै नबन्ने अडानमा छन् ।
सरकारले संविधान संशोधन विधेयक संसद्मा दर्ता गरेपछि संसद् बैठक एकपटक मात्र चलेको छ । सभामुखले एक दिन दोस्रो बैठक राखेको संशोधन प्रस्ताव आएपछिको यो पहिलो पटक हो ।
१२ पुसमा पूर्वसांसद बुद्धरत्न मानन्धरको शोकप्रस्ताव पारित गर्न संसद् चलेको थियो । त्यसपछि १६, १७, १९ र २२ मंसिर तथा ४, १३ र १४ पुसको बैठक विपक्षी दलले अवरुद्ध गरेका थिए । ३० मंसिर तथा ७ र १० पुसको बैठक चाहिँ सूचना टाँसेर स्थगित गरिएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij